२०८१ मंसिर १२, बुधवार , १२:२८:०६ बजे

Sajhamanch
'

आफू बचौँ, अरूलाई पनि बचाऔं, यो नै मानवधर्म हो

शनिवार, चैत २२, २०७६

               विष्णु प्याकुरेल, हाल दुबई

म युएइको एक इन्टेरियर डिजाइन कम्पनीमा अफिस मेनेजरको पोस्टमा कार्यरत छु । कम्पनीका मालिक स्वीडेनका हुन् । १५ वर्षको युएई बसाइँमा मैले यति राम्रो कम्पनी र यति राम्रो मालिक कहिल्यै पाएको थिइनँ । यो कम्पनीमा काम गरेको ५ वर्ष पूरा भयो ।

मेरो जिन्दगीले ४० वसन्त पार गरिसक्यो । मैले आजसम्म यसरी संसारमै तहल्का मचाउने कुनै परिस्थिति अनुभव गरेको थिइनँ । देखेको पनि थिइनँ, जुन अहिले कोरोना भाइरसले दुनियाँलाई त्रस्त पारेको छ ।

मैले चलाउने हरेक सामाजिक सन्जालका भित्ताहरुमा ९९ प्रतिशत मानिसहरु कोरोनाको बारेमा विभिन्न लेख, कविता, जोक अनि सबैलाई सचेत गराउने चेतनामुलक सूचनाहरु प्रसारण भइरहेका हुन्छन्, यो राम्रो पक्ष हो । सुरुसुरुमा धेरैले यसलाई सामान्य रूपमा लिएका थिए तर जब संसारभरि फैलिएर धेरै मानिसहरुलाई कालले टप्प टिप्न थाल्यो, अनि सबै सचेत रहन थालेका छन् ।

म इन्टरनेटको माध्यमबाट संसारभरिका समाचारहरु सकेसम्म, समयले भ्याएसम्म पढ्ने र हेर्ने गर्छु । तर म अहिले युएइ बसोबास गर्ने भएकोले यहाँको जनजीवन अनि मेरो व्यक्तिगत भोगाइ र मेरा दिनचर्याको बारेमा हालसालको परिस्थितिलाई मध्यनजर गर्दै केही कुराहरु सेयर गर्न चाहान्छु ।

विश्वव्यापी रूममा फैलिएको कोरोनाको सङ्क्रमणबाट आफूलाई टाढा राख्न मैले हरेक ५ मिनेटको फरक पारी सेनिटाइजर लगाउने, साबुनपानीले हात धुने, माक्स लगाउने, हरेक मान्छेबाट आफू एक मिटर टाढा रहने, भीडभाडमा नजाने, बिना काम बाहिर नजाने जस्ता उपाय अपनाएको छु ।

म केही साता अधिसम्म ड्युटीमा गइरहेको थिएँ, तर मैले कुनै सार्वजनिक यातायात र मेट्रो प्रयोग गरेको छैन । म आफ्नो काममा जति इमानदार छु, त्यति नै आफ्नो स्वास्थ्यको पनि ख्याल राखिरहेको छु । मेरो अफिस म बस्ने बासस्थानबाट १० किलोमिटरको दूरीमा छ । ८ बजे ड्युटीमा पुग्छु अनि ५ बजे आफ्नै सवारीसाधन मार्फत रूममा फर्कन्छु ।

मार्चका अन्तिम साता र अप्रिल ५ तारिकसम्म युएइ सरकारले कोरोना नफैलियोस भनेर सडक सरसफाइ अभियान चलाएकोले मानिसहरुको आवागमन लगभग शून्य छ । यो अवधिमा रुममै बसेर नेपाली साहित्यका पुस्तकहरु पढिरहेको छु । मैले सुने र जानेअनुसार हाइजेनिक खाना हाम्रो शरीरको लागि धेरै नै लाभदायक हुन्छ, त्यसैले म कोरोनासङ्ग लड्नका लागि आफ्नो रोग प्रतिरोधात्मक शक्ति बढोस् भनेर अदुवा, लसुन, दालचिनी अनि कागतीलाई मिक्सचरमा पिसेर जुस बनाएर दिनमा धेरै चोटि पिउने गर्छु ।

म शुद्ध भेजिटबल साथै हरियो सागसब्जी मन पराउँछु । सकेसम्म बाहिर जानुभन्दा पनि फोन गरेर आवश्यक खानेकुरा घरमै मगाउने गर्छु । कोरोनाको बारेमा युएइ सरकारले गल्फ न्यूज र खालिज टाइम्समा दिने समाचारहरु लगायत सामाजिक सञ्जालका फेसबुक, टुइटर अनि नेपाली राजदूतावास, युएईको वेबसाइट पेज दिनहुँ हेर्नेगर्छु । मेरा सूचनाका आधिकारिक श्रोत यिनै हुन् ।

शरीरको तापक्रम मापन गर्न कम्पनीले दिएको एउटा सानो मेसिनबाट दिनमा हरेक २–३ घन्टाको फरकमा मापन गरिरहेको हुन्छु, चाहे म रूममा हुँ या काममा रहुँ । कुनै काम विशेषले नेपाली राजदूतावासमा सम्पर्क गर्नुपरेमा मेरो मोबाइलमा सेभ गरेको राजदूतावासको नम्बर हेरेर सिधै सम्पर्क गर्छु । नत्र राजदूतावासको वेबसाइट खोल्दा त्यहाँ सबै विवरण आउँछ । त्यहाँबाट हटलाइन र सिधै इमेलमा पनि सम्पर्क गर्न सकिन्छ । अहिलेको विशेष अवस्थामा आफू बचौँ, अरूलाई पनि बचाऔं । यो नै मानवधर्म हो ।

अर्जुनधारा–१, खुदुनाबारी, झापा
हाल दुबई

सम्बन्धित खबर