२०८१ मंसिर ६, बिहिवार , ०७:४७:३५ बजे

Sajhamanch
'

मेची नदीको बगरमा कृषक कार्कीको आत्मनिर्भरता

बिहिवार, चैत २०, २०७६

भद्रपुर । घर अगाडि बगिरहेको मेची नदी विगतमा भद्रपुरका लेखबहादुर कार्की लगायत श्रमजीवि कृषकलाई त्रास र पीडाको भारी मात्र हुन्थ्यो । खोला कुन बेला गाउँ पस्ला र घर खेत बगाउला भन्ने त्रास हुन्थ्यो । भद्रपुर नगरपालिका वडा नं. ५ का लेखबहादुर लगायत अधिकांश स्थानीय बासिन्दा आज त्यही खोलाको बगरमा आफ्नो जीवन गुजाराको आधार फेला पारेपछि त्रास मुक्त भएका छन् ।

जल, जमिन र जंगलमा श्रमजीविको पहुँच भए गरिबी, अभाव र अशिक्षा दूर हुन्छ भन्ने मान्यता पनि सत्य रहेको अनुभव कृषक कार्कीले संगालेका छन् । उनले ५ वर्षयता आफ्नै गाउँ अगाडि बग्ने मेची नदीको बगर उपयोग गरेर परिवार धान्नेदेखि गरिबी अत्य गर्ने मौकासमेत पाएका छन् । खरबुजा, काँक्रा, लौकालगायत लहरे बालीको खेती गरेर वर्षभरि परिवार धान्ने र केही रकम जोहो गर्ने मौका मेची नदीको बगरले उनीहरुलाई जुटाई दिएको हो ।

भारतीय मजदूर एमडी भुटुसित साझेदारी गरेर कार्कीले लगाएको खरबुजा खेतीले उनको जीवनस्तरमै आमूल परिवर्तन गरिदियो । एमडीसित खेती गर्ने सीप र कौशल छ भने कार्कीसित लगानी र बजारीकरणको शक्ति छ । जसले गर्दा दुवै परिवारको चुल्हो बल्नेदेखि बालबच्चाले राम्रो शिक्षालयमा अध्ययन गर्ने वातावरण समेत निर्माण भएको छ ।

बगर खेतीमा आउनु अगाडि अर्काको जनमन गर्दाको पीडा र अभाव अब दूर भएको उनीहरु बताउँछन् । विगतमा भारतीय नागरिकहरूले मात्र बगर खेती गर्ने भद्रपुरमा कार्की परिवारको आगमनले श्रम गरे के हुन्न भन्ने मान्यता स्थापित गराई दिएको छ । नेपालीहरू आफ्ना अगाडि बगिरहेका खोला नदीका बगरबाट पनि आम्दानी लिन सक्छन् भन्ने विश्वास कार्कीले स्थापित गराइ दिएका हुन् । खासगरी भारतका बिहारी समुदाय मात्र देखिने बगर खेतीमा नेपालका पहाडे समुदाय पनि अब्बल हुनसक्ने मान्यता कार्कीको कृषि कर्मले पुष्टि गरिदिएको छ ।

१५ वर्षयता खरबुजा खेतीमा लागेको कार्की परिवार भारतीय कृषि मजदूरको भरमै व्यवसाय सञ्चालन गरिरहेका छन् । विगतमा जस्तो अचेल कृषि मजदूर पाउन छोडेपछि आफैंले बगर खेतीको सीप विकास गरेर काम गर्न थालेको कार्की बताउँछन् । यसवर्ष कार्कीले ७ हजार खरबुजाको बोट रोपेको सुनाए । उनले मल, बिउ, मजदूर गरेर एक लाख ६० हजार रुपैयाँभन्दा बढी खर्चिइसकेको पनि जानकारी दिए ।

यसवर्षको उत्पादन तयार भयो तर कोभिड १९ संक्रमण फैलन नदिन नेपाल भारत दुवै सरकारले लकडाउन गरेकाले बजारमा पुर्याउन सकिने अवस्था छैन । अर्को हप्तासम्म लकडाउन नखुले खरबुजा बिग्रने चिन्ता लागेको कार्की सुनाउँछन् । उनको बगर खेतीमा कालो र सेतो पाङ्ग्रे खजबुजा लटरम्म छन् । प्रतिकिलो २० रूपैयाँमा बेच्दा लगानी उठ्नसक्ने सुनाउने कार्कीलाई बिचौलियाका कारण आफ्नो उत्पादनले उचित मूल्य नपाएको दुखेसो पनि छ । उनी भन्छन् ‘‘कृषका उत्पादनलाई कृषक आफैंले सजिलै बजारमा बेच्न सक्ने नीति राज्यले बनाउनु पर्छ अनि मात्र बिचौलिया आतङ्क बन्द हुन्छ ।’’

सम्बन्धित खबर