![](https://sajhamanch.com/wp-content/uploads/2023/07/Untitled-design-1-1.png)
काठमाडौं । सरकारले चीनतर्फको प्रमुख नाकाबाट सामान आयात गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट सामान आयात निर्यात कार्य सुचारु गर्ने भएको हो । यससम्बन्धी आवश्यक समन्वय गृह मन्त्रालय र अर्थ मन्त्रालयले गर्ने बताइएको छ ।
त्यस्तै अत्यावश्यक सामान ढुवानी गर्ने सवारीसाधनलाई निर्वाध अनुमति दिने बताइएको छ । औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने । यस्ता सवारी साधनले यात्रु ओसारपसार गर्न पाउँदैनन् ।
औषधि उत्पादन, ग्यास बोटलिङजस्ता कार्यमा संलग्न हुने श्रमिकलाई कार्यस्थलसम्म आउन जानका लागि सम्बन्धित उत्पादक संस्थाले सवारी साधनको व्यवस्था गर्ने भनिएको छ । गृह मन्त्रालयले सो सवारी साधनका लागि आवश्यक अनुमति दिने बताइएको छ ।
अत्यावश्यक अवस्थामा हवाई ढुवानीको समेत प्रयोग गर्ने समितिले जानकारी दिएको छ । ठूला खाद्य स्टोर तथा पसलहरूले आवश्यक खाद्यवस्तुहरू होम डेलिभरी गर्ने व्यवस्था मिलाउनेछ । यसका लागि गृह मन्त्रालयले सीमित संख्याका सवारी साधनलाई अनुमति दिनेछ ।
‘अति आवश्यक परी खाद्यान्न ढुवानी गर्नुपरेमा गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा हवाई ढुवानी गर्ने व्यवस्था मिलाइने’, समितिको निर्णयमा उल्लेख छ ।
त्यस्तै, स्थानीय तहले वडास्तरमा दूध, तरकारी, फलफूललगायत अन्य खाद्यवस्तु बिक्री वितरण गर्ने पसलमा भीडभाड नहुने, मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र ग्राहकबीच भौतिक दूरी कायम हुने गरी सञ्चालन गर्न सहजीकरण गर्न भनिएको छ । अन्नपूर्ण पोष्टबाठ ।