२०८१ मंसिर १२, बुधवार , ०७:५६:२३ बजे

Sajhamanch
'

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषले राई र सुवेदीलाई पुरस्कृत गर्ने

बिहिवार, माघ ९, २०७६

विर्तामोड । साहित्य र पत्रकारिता क्षेत्रको उन्नयनका लागि काम गर्दै आएको जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषले यो वर्ष पुरस्कृत गर्ने प्रतिभाको छनौट गरेको छ ।

कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा विहीबार विर्तामोडमा बसेको कोषको कार्यसमितिको बैठकले पुरस्कारका लागि छनौट समितिले सिफारिस गरेको कृति, व्यक्ति तथा पत्रकार प्रतिभालाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।

कोषले २०७५ को वर्षोत्कृष्ट कृतिका रुपमा वियस राईद्वारा लिखित कथा संग्रह हिउँमाझीलाई उत्कृष्ठ कृतिका रुपमा पुरस्कृत गर्ने भएको छ भने विष्णु चन्द्र पद्मा दीर्घ साहित्य सम्मान मोरङका दधिराज सुवेदीलाई सम्मान प्रदान गर्ने भएको हो ।

त्यस्तै धनमाया सक्रिय महिला वर्षोत्कृष्ट महिला पत्रकारका रुपमा ताप्लेजुङकी माला पालुङ्वालाई छनौट गरेको छ ।
कृति र दीर्घ साहित्य सम्मान छनौटका लागि कृष्ण धरावासीको संयोजकत्वको समितिले प्रतिभा छनौट गरेको हो भने पत्रकारिता प्रतिभा छनौटका लागि लोकराज ढकालको संयोजकत्वमा गठित समितिले पुरस्कारका लागि प्रतिभा सिफारिस गरी कार्यसमितिमा पेश गरेको थियो ।

संस्थाले यही माघ २५ गते शनिवारका दिन कोषको विर्तामोडस्थित आफ्नै सभाहलमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गर्ने निर्णय गरेको कोषका महासचिव छविलाल खतिवडाले जानकारी दिए ।

वि.संं २०५९ सालमा स्थापित जयेन्द्रप्रसाद प्रसाई साहित्यसेवा कोषले हरेक वर्ष एक कृति, एकजना दीर्ध साहित्यसेवी र एक महिला पत्रकारलाई पुरस्कृत तथा सम्मान गरिंदै आएको छ।

सम्बन्धित खबर