
झापा । सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस शनिश्चरेले अर्जुनधारामा एउटा बोलेरो पिकअपमा लोड भएको अढाई लाख मूल्य बराबरका साल जातका तयारी काठजन्य सामग्री, बोलेरो पिकअपसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी नायब निरीक्षक अमरबहादुर भुजेलको कमान्डमा खटिएको गस्ती टोलीले अर्जुनधारा नगरपालिका–३ नेपालडाँडा क्षेत्रमा मंगलबार बिहान ७ बजे इलामबाट झापातर्फ आउँदै गरेको मे १ ज ११७८ नम्बरको बोलेरो पिकअपलाई शंकाको आधारमा चेकजाँचका क्रममा उक्त सफलता हात पारेको हो ।
स्थानान्तरण इजाजत पत्रबिना ओसारपसार गरिएको अन्दाजी २ लाख ३२ हजार २३८ रुपैयाँ बराबरको साल जातको तयारी चिरान काठ (६ थान सालको झ्यालको चौकट, ६ थान ढोकाको चौकट, २४ थान झ्यालका पल्ला, १४ थान कुर्सी र १ थान टी–टेबल) फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाका डीएसपी तथा सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिए ।
पिकअप चालक इलामको देउमाई नगरपालिका–८ जितपुरका २४ वर्षीय साजन मगर र सहचालक देउमाई–९ जितपुरका ४० वर्षीय सरोज कट्टेल हुन् । उनीहरु दुवैलाई समेत नियन्त्रणमा लिएको डीएसपी पोखरेलले बताए ।
बरामद काठजन्य सामग्री, १० लाखको सवारीसाधन गरी कुल मूल्य १२ लाख ३२ हजार २३८ रुपैयाँ मूल्यांकन तोकेर चालक र सहचालकलाई आवश्यक कारबाहीका लागि मंगलबार बिहान ११ः१० बजे कनकाई सब–डिभिजन वन कार्यालय, सुरुङ्गामा बुझाइसकेको उनको भनाई छ ।


