
शिवसताक्षी । झापा शिवसताक्षीको दुधेमा जारी भेट्रान फुटबल प्रतियोगिताको आज बुधबार भएको पहिलो सेमिफाइनल खेलमा झिलझिले भेट्रानले पुर्वेली भेट्रानलाई ५–३ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ। निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा दुवै टोलीले आकर्षक प्रदर्शन गरेका थिए।
झिलझिलेको जितमा प्रविन विश्वकर्मा नायक बने। उनले खेलको २९औं, ४७औं र ५२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। यस्तै अन्कुर खड्गीले २२औं र ४३औं मिनेटमा दुई गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए।
पुर्वेली भेट्रानका लागि १७औं मिनेटमा प्रेम सुब्बाले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ३३औं मिनेटमा खेम पोख्रेल र ५५औं मिनेटमा सन्तोष राईले गोल फर्काए पनि टोलीलाई फाइनलमा पुर्याउन पर्याप्त हुन सकेन। खेलभर उत्कृष्ट प्रदर्शन गरेका झिलझिले भेट्रानका अन्कुर खड्गी ‘म्यान अफ दि म्याच’ घोषित भए।
अब प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनल खेल भोलि आयोजक दुधे भेट्रान र दमक लखनपुर भेट्रानबीच हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले नगद एक लाख ५१ हजार रुपैयाँ तथा उपविजेताले ८१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।


