
अर्जुनधारा । अर्जुनधारामा जारी वडा स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज भएको खेलबाट वडा नं. ८ सेमिफाइनलमा प्रवेश गरेको छ ।
अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत बुधबार भएको अन्तिम क्वाटरफाइनल खेलमा वडा नम्बर ९ लाई ३–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ८ ले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
नमुना खेलमैदानमा सम्पन्न खेलमा वडा नम्बर ८ का लागि राजिप ढुंगानाले दुई गोल गरे । उनले खेलको १५औँ र ४१औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे । यसअघि समिर हेमरमले १३औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको प्लेयर अफ द म्याच वडा नम्बर ८ का राजिप ढुंगाना घोषित भए । उनले नगद १ हजार ५०० रुपैयाँसहित ट्रफी प्राप्त गरे । उनलाई वडा नम्बर ७ का वडाध्यक्ष गोविन्द खतिवडा, वडा नम्बर ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल तथा सचिव खगेन्द्र लिङ्देनले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताअन्तर्गत बिहीबार पहिलो सेमिफाइनल खेल हुनेछ । पहिलो सेमिफाइनलमा वडा नम्बर ५ र वडा नम्बर १ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
वडा स्तरबाट प्रतिभावान खेलाडी उत्पादन गर्दै नगरस्तरीय टोली निर्माणका लागि खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए । उनका अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँसहित आकर्षक ट्रफी प्राप्त गर्नेछन् ।
गोलधाप युवा क्लब सह–आयोजक रहेको प्रतियोगिताको फाइनल खेल जेठ १७ गते हुने जनाइएको छ ।


