२०८३ जेठ ११ सोमवार , ०३:४२:२० बजे

Sajhamanch
'

पोखराको फिर्के खोला क्षेत्रमा अतिक्रमण गरी बनाएका संरचना हटाउने काम तिब्र

सोमवार, जेठ ११, २०८३

काठमाडौं । पोखरा महानगरपालिकाले लामो समयदेखि विवादित फिर्के खोलाको अतिक्रमण हटाउन सफल भएको छ । बजारको मध्यभाग भएर बग्ने फिर्के खोलामा बनेका संरचनाहरू हटाउन हिजोदेखि सुरु गरिएको अभियान शान्तिपूर्ण रूपमा सम्पन्न भएको महानगरले जनाएको छ ।

महानगरका अनुसार फिर्के खोलाघरभित्र निजी, संस्थागत, स्थायी तथा अस्थायी गरी दर्जनौँ संरचना रहेका छन् । हालसम्म झण्डै करिब ३५ स्थायी र ९७ अस्थायी निजी संरचना तथा १८ स्थायी र १० अस्थायी संस्थागत संरचना पहिचान गरिएको छ । अतिक्रमण हटाउने कार्यलाई निरन्तर अभियानका रूपमा अघि बढाइने महानगरले स्पष्ट पारेको छ ।

यसअघि तत्कालीन जनप्रतिनिधिहरूको समयमा समेत अतिक्रमण हटाउने प्रयास गरिएको भएपनि स्थानीय विरोध र कानुनी जटिलताका कारण काम अघि बढ्न सकेको थिएन । हाल भने संघीय सरकारको समेत सहयोग र स्थानीयको आंशिक सहमतिसँगै अभियान अघि बढाइएको हो । फिर्के खाली भएपछि महानगरले “फिर्के करिडोर परियोजना” सुरु गर्ने तयारी गरेको छ ।

यो परियोजनामार्फत पोखरालाई हरित, स्वच्छ र आधुनिक नदी–करिडोर सहरका रूपमा विकास गर्ने लक्ष्य राखिएको महानगरपालिकाले जनाएको छ । महानगरका अनुसार करिडोरमा खोलाको दायाँ–बायाँ कम्तीमा ६ मिटर मापदण्ड कायम गर्दै व्यवस्थित फुटट्रेल, साइकल लेन तथा बिहान–साँझ हिँडडुलका लागि सुरक्षित पदमार्ग निर्माण गरिनेछ।

योजनाअनुसार फिर्के किनारमा हरियाली बेल्ट, रैथाने बोटबिरुवा, ढुङ्गे तटबन्ध, स्मार्ट एलईडी बत्ती र वातावरणमैत्री खुला क्षेत्र विकास गरिनेछ । साथै विश्रामस्थल, कफी पोइन्ट, खुला क्याफे, सेल्फी स्पट, दृश्यावलोकन स्थल, सानो पार्क, चौतारी तथा बालबालिका र ज्येष्ठ नागरिकमैत्री संरचनाहरू पनि निर्माण गरिनेछ ।