२०८३ जेठ ७ बिहिवार , ०३:३०:२७ बजे

Sajhamanch
'

कनकाई माईमा झोलुङ्गे पूल, शिवसताक्षीको चन्द्रडाँगीबाट कनकाईको ट्याक्रा जोडियो

बिहिवार, जेठ ७, २०८३

शिवसताक्षी । शिवसताक्षी नगरपालिका–६ स्थित कनकाई नदीमा निर्माण गरिएको लामो झोलुङ्गे पूल सञ्चालनमा आएको छ।

चन्द्रडाँगी बजारलाई लालपानी क्षेत्रसँग प्रत्यक्ष जोड्ने उक्त झोलुङ्गे पूल सञ्चालनमा आएपछि स्थानीय बासिन्दाको वर्षौँदेखिको आवतजावत समस्या अन्त्य भएको छ भने विकास र सहज यातायातको नयाँ ढोका खुलेको छ।

संघीय सरकारअन्तर्गत झोलुङ्गे पूल महाशाखा कुपन्डोलको आर्थिक सहयोगमा निर्माण गरिएको पूल करिब ७ करोड ४१ लाख रुपैयाँको लागतमा सम्पन्न भएको हो।

निर्माण कम्पनी पशुपति हरि कन्स्ट्रक्सन प्रालिका अनुसार पूलको लम्बाइ ६४० मिटर रहेको छ, जुन यस क्षेत्रकै महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ।

झोलुङ्गे पूल सञ्चालनमा आएपछि चन्द्रडाँगी, लालपानी, ट्याक्रा तथा माईपूर्वका बासिन्दालाई दैनिक आवतजावतमा ठूलो सहजता भएको स्थानीयवासीले बताएका छन्।

यसअघि कनकाई नदीले नगरका केही वडालाई भौगोलिक रूपमा छुट्याएका कारण स्थानीयले आफ्नै वडा पुग्नसमेत लामो दूरी पार गर्नुपर्ने बाध्यता थियो।

विशेष गरी वडा नं. ७ र वडा नं. १० का बासिन्दाले पूर्व–पश्चिम राजमार्गस्थित कनकाई पूल प्रयोग गर्दै करिब सात किलोमिटर उत्तरतर्फ घुमेर यात्रा गर्नुपर्ने अवस्था रहेको थियो।

झोलुङ्गे पूल सञ्चालनमा आएपछि केही मिनेटमै स्थानीय आफ्नो गन्तव्यमा पुग्न सक्ने भएका छन्। विद्यार्थी, किसान, ज्येष्ठ नागरिक तथा दैनिक मजदुरी गर्ने नागरिकलाई यसको प्रत्यक्ष लाभ पुगेको छ।

वर्षायाममा नदी बढ्दा आवतजावतमा हुने जोखिमसमेत अब हट्ने भएको स्थानीयको भनाइ छ। उक्त पूलबाट दुई पांग्रे सवारी साधनलाई समेत आवतजावतमा सहज भएको छ ।

कनकाई नदी माथिको यो पूलले स्थानीय आर्थिक गतिविधि, व्यापार तथा सामाजिक सम्बन्ध विस्तारमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। बजार क्षेत्र, नगरपालिका कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक केन्द्रसम्मको पहुँच सहज बनेसँगै माईपारिका बासिन्दाको जीवनशैलीमा समेत परिवर्तन आउने विश्वास गरिएको छ।

शिवसताक्षी नगरपालिकाले सो पूल केवल भौतिक संरचना मात्र नभई नगरको समग्र विकास, सामाजिक एकता र नागरिक सहजताको महत्वपूर्ण आधार बनेको जनाएको छ।

सम्बन्धित खबर