
झापा । झापाको हल्दीबारी गाउँपालिकामा घरायसी विवादका कारण एक व्यक्तिले आफ्नै श्रीमतीको विभत्स हत्या गरेका छन्।
हल्दीबारी गाउँपालिका वडा नम्बर ५ स्थित धनुषपोखरी नजिकै गएराति सामान्य विवाद बढ्दै जाँदा श्रीमानको प्रहारबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो।
स्थानीय बासिन्दाका अनुसार गोकर्ण भनिने गणेश भण्डारी र उनकी ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीबीच लामो समयदेखि घरायसी विवाद चल्दै आएको थियो।
गएराति करिब ९ बजे गोकर्ण मादक पदार्थ सेवन गरेर घर फर्किएपछि दुवैबीच पुनः भनाभन सुरु भएको थियो। सोही क्रममा विवादले उग्र रूप लिँदा आवेशमा आएर गोकर्णले उर्मिलाको टाउकोमा दाउ (धारिलो हतियार) प्रहार गरेका थिए।
श्रीमतीको हत्या गरिसकेपछि आरोपी गोकर्ण आफैँले छिमेकीको घरमा पुगेर घटनाको स्वीकारोक्ति गरेका थिए। उनले श्रीमतीको हत्या गरेको बताएलगत्तै स्थानीयवासीले तत्काल प्रहरीलाई खबर गरी उनलाई नियन्त्रणमा लिएका थिए।
मृतक उर्मिला गोकर्णकी कान्छी श्रीमती हुन्। जेठी श्रीमतीसँग सम्बन्ध विच्छेद भएपछि उनले उर्मिलासँग दोस्रो विवाह गरेका थिए। भण्डारी दम्पतीका एक छोरी र एक छोरा छन्। आमाको बीभत्स हत्या भएको र बुबा प्रहरीको नियन्त्रणमा परेपछि ती निर्दोष बालबालिकाहरूको बिचल्ली भएको छ।
घटनालगत्तै पक्राउ परेका भण्डारीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ।
यस्तै, मृतक उर्मिलाको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।


