
भद्रपुर । बन्धुहरुको एकता एवम् भाइचारा वृद्धि गर्दै आफ्नो थर गोत्रको सांस्कृतिक परम्पराको जगेर्ना, उन्नयन एवम् प्रवर्धनमा सक्रिय काफ्ले समाजले झापा जिल्ला कार्यसमिति अन्तरगत भद्रपुर नगरसमितिको पहिलो साधारणसभा गरी नेतृत्व चयन गरेको छ ।
२०८१ पुष २० गते गठित तदर्थ समितिका अध्यक्ष कृष्ण काफ्लेको अध्यक्षता तथा समाजका केन्द्रीय उपाध्यक्ष दुर्गादेवी खनाल काफ्लेको प्रमुख आतिथ्यमा शनिबार उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
साधारण सभाबाट कृष्ण काफ्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ नगर कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । नगर कार्यसमितिको उपाध्यक्षद्वयमा लीला कार्की काफ्ले र बिक्रम काफ्ले, सचिवमा थिरराज काफ्ले, सहसचिवमा जगदिश काफ्ले र कोषाध्यक्षमा सरोज काफ्ले निर्विरोध चयन हुन भएको छ ।
नगर कार्यसमितिका सदस्यहरुमा कृष्णप्रसाद काफ्ले, अर्जुन काफ्ले, मञ्जु काफ्ले, तिलमाया काफ्ले र राजेन्द्र काफ्लेले जिम्मेवारी पाउनु भएको छ ।
कोशी प्रदेश कार्यसमितिका अध्यक्ष चिन्तामणि काफ्ले नेतृत्वको निर्वाचन समितिले उक्त ११ सदस्यीय नगर नेतृत्व निर्विरोध एवम् सर्वसम्मत चयन गरेको हो ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रीय उपााध्यक्ष दुर्गादेवी खनाल काफ्लेले काफ्ले समाज ०५९ को विधानमा उल्लेखित शपथ गराउनु भएको थियो ।
गत भदौ १४ गते इटहरीमा सम्पन्न काफ्ले बन्धुहरुका तीनवटा अलग अलग संस्थाहरुबीच कार्यगत एकता गर्दै अघि बढ्ने सहमति अनुसार भद्रपुरमा एकीकृत भेला गरी सामुहिक सहभागितामा नयाँ नेतृत्व चयन गरिएको हो ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष दुर्गादेवी काफ्लेले दोस्रो संस्करणको काफ्ले वंशावली प्रकाशन एवम् डिजिटल वंशावलीको विषयमा प्रकाश पार्नुहुँदै जनगणना तथा घरधुरी सर्वेक्षणमा कोही पनि नछुट्न सुझाव दिनुभयो ।
कार्यक्रमका अर्का वक्ता काफ्ले समाजका केन्द्रीय सचिव तथा निवर्तमान झापा जिल्ला अध्यक्ष गोपाल काफ्लेले तनहुँको देवघाटमा निर्माण गरिँदै आएको शाण्डिल्य सेवा आश्रम र शाण्डिल्य ऋषिको प्रतिमा निर्माणका लागि भद्रपुर नगर क्षेत्रका बन्धुहरुबाट यथेष्ट सहयोग पुग्ने अपेक्षा राख्नु भयो ।
साधारणसभामा कोशी प्रदेश कार्यसमितिका अध्यक्ष चिन्तामणि काफ्लेले देशैभरका काफ्लेहरुको एकीकृत अभियान सञ्चालन गर्न तीनवटा संस्थाबीच कार्यगत एकता गरी काफ्ले बन्धु समाज नेपालको ब्यानरमा क्रियाकलापहरु गरिँदै आएको जनाउनु भयो ।
कोशी प्रदेश कार्यसमितिले १४ वटै जिल्लामा बसोबास गर्ने बन्धुहरुको लगत संकलन गर्ने, जिल्ला भेला गरी नयाँ नेतृत्व चयन गर्ने कार्यलाई तिब्रता दिएको पनि अध्यक्ष चिन्तामणिले सुनाउनु भयो ।

उक्त कार्यक्रममा झापाका अध्यक्ष नारायणप्रसाद काफ्लेले जिल्ला अधिवेशन गरी नयाँ नेतृत्व चयन गरिसकेको अवस्थामा अब १५ वटै पालिकालाई सक्रिय बनाएर बन्धुहितका काममा लाग्ने बताउनु भयो ।
पूर्ववर्ती जिल्ला नेतृत्वले सुरु गरेका असल अभ्यासहरुलाई वर्तमान जिल्ला कार्यसमितिले निरन्तरता दिने जनाउँदै उहाँले पालिका कार्यसमितिले पनि अनुशरण गर्नुपर्ने सुझाउनु भयो ।
सचिव थिरराज काफ्लेले साधारण सभामा तदर्थ समितिले यो अवधिमा गरेको सांगठानिक काम तथा आर्थिक परिचालनको विवरण सार्वजनिक गर्नुभएको थियो । उक्त प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो ।
सचिव थिरराजले सञ्चालन गर्नुभएको उक्त साधारणसभामा आमन्त्रित सबैलाई सहसचिव जगदिश काफ्लेले शाब्दिक स्वागत गर्नुभएको थियो ।


