
विर्तामोड । २०औं लोकतन्त्र दिवसको दिन आज झापाको बिर्तामोडमा नागरिक अधिकार र राज्यको सीमा विषयक अन्तरक्रिया गरेको छ ।
मेची भद्रपुर प्रकाशन प्रशारण प्रालिद्वारा सञ्चालित रेडियो भिजनले विभिन्न विद्यार्थी संगठनका नेता, निजामति कर्मचारीका नेता र स्थानीय तहका प्रमुख एवम् पत्रकारका नेतालाई एउटै मञ्चमा राखेर वर्तमान सरकारले नागरिक अधिकार कुण्ठित गर्ने हिसाबले भइरहेका क्रियाकलापमाथि मन्थन गरेको हो ।
मेची भद्रपुर प्रकाशन प्रशारण प्रालिका सदस्य माधव बिद्रोहीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाईं, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, अनेरास्ववियु कोशी प्रदेश अध्यक्ष नारायण पोखरेल, अनेरास्ववियू (क्रान्किारी)का कोशी प्रदेश सचिव राजन चापागाईं, नेपाल विद्यार्थी संघ झापाका अध्यक्ष संजय निरौला, नेपाल निजामती संगठनका केन्द्रीय सदस्य वशिष्ठ अधिकारी लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
वक्ताहरुले वर्तमान समयमा राज्य पक्षबाट नागरिकका हकअधिकारमाथि भएका दमन तत्काल बन्द गर्नुपर्ने आवाज उठाएका थिए । वक्ताहरुले नागरिक, विद्यार्थी, कर्मचारीका हकअधिकारका लागि स्थापना भएका संघ–संगठन खारेज गर्नु राज्यको दम्भ भएकाले त्यस्ता निर्णय तत्काल खारेज गर्न आग्रहसमेत गरे ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले सरकारी विज्ञापन सरकारी मिडियालाई मात्र दिनुपर्ने संघीय सरकारको निर्णयले सरकार तानाशाही भएको पुष्टि भएको जिकिर गरे । टेण्डरका सूचना सरकारी मिडियालाई दिनुपर्ने भनेर राज्यले गरेको सर्कुलरलाई आधार बनाएर केही स्थानीय तहले स्थानीय मिडियालाई समेत दिन नमिल्ने भास्य निर्माण गरेकोप्रति उनको आपत्ति थियो ।
नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष तथा रेडियो भिजनका सञ्चालक सुव्रत न्यौपानेले आमन्त्रितहरुलाई शाब्दिक स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन प्रबन्ध निर्देशक गणेशप्रसाद पोखरेलले गरेका थिए ।
स्थापनाकालदेखि नै कोशी प्रदेशका जनसमुदायको आवाजलाई प्रतिनिधित्व गर्दै सामाजिक र आर्थिक चेतना विकासमा समर्पित रहँदै आएको रेडियोले सोही अवसर पारेर टेवल क्यालेण्डरसमेत सार्वजनिक गरेको छ ।


