२०८३ वैशाख ५ शनिवार , ११:३६:०५ बजे

Sajhamanch
'

झापामा कांग्रेसको जरा अभियान सुरु

शनिवार, वैशाख ५, २०८३

झापा । नेपाली कांग्रेसले क्रियाशिल सदस्यको अद्यावधिक गर्दै राष्ट्र–राष्ट्रियता, लोकतन्त्र, संघीयता सबल बनाउने उद्देश्यले सञ्चालन गर्न लागेको जरा अभियान झापामा पनि शुरु भएको छ ।

अभियानका लागि केन्द्रीय प्रतिनिधिद्वय बसन्त भट्टराई र रुद्रबहादुर कन्दङ्वाको उपस्थितिमा बृहद बैठकमार्फत् अभियान शुरु गरिएको हो ।

जरा अभियानमा झापाका लागि केन्द्रीय प्रतिनिधि एवं वृहद बैठकका प्रमुख अतिथि बसन्त भट्टराईले कृयाशिल सदस्यता वितरणमा देखिएका अनियमितता नियन्त्रण गरेर पार्टीको नीति, विचार, सिद्धान्त, कार्यक्रमलाई पालना गर्दै अनुशासन पालना गर्ने वास्तविक क्रियाशिल सदस्य अध्यावधिक गर्न अभियान थालिएको बताउनुभयो ।

विशेष महाधिवेशनको बन्दशत्रले समेत यो विषय पारित गरेको जानकारी दिँदै उहाँले कांग्रेसलाई नयाँ र प्रविधियुक्त बनाउने अभियानमा सहभागी हुन सबै क्रियाशिल सदस्यलाई आह्वान गर्नुभयो ।

पुरानाको मान मर्दन गर्ने गलत हल्ला फिँजाइएको बताउँदै नेता भट्टराइले पार्टीभित्र कसैलाई काखा, पाखा नगरिने, योगदानको मूल्यांकन हुनेमा ढुक्क हुन सबै तहका नेता कार्यकर्तामा आग्रहसमेत गर्नुभयो ।

जरा अभियानका लागि केन्द्रीय प्रतिनिधि रुद्रबहादुर कन्दङ्वाले गगन थापा नेतृत्वको कांग्रेसले कानुनी रुपमा वैधता प्राप्त गरेसँगै कांग्रेसभित्रको विवाद समाप्त भएको बताउँदै पार्टी, राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, संघीयतालाई बलियो बनाउने अभिप्रायले जरा अभियान शुरु गरिएको जानकारी गराउनुभयो ।

क्रियाशिल सदस्यता खारेज नभई अद्यावधिक र ब्यवस्थित एवं डिजिटलाइजेशन गर्न लागिएको उहाँको भनाई छ ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले अभियान सफल बनाउन क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ नगर र वडा समितिलाई सक्रिय हुन आह्वान गर्दै समयसिमाभित्रै क्रियाशिल अद्यावधिक गरिसक्ने बताउनुभयो ।

पार्टीका उपसभापति केशवराज पाण्डेले दुराग्रह, पूर्वाग्रह, त्यागेर आलोचनाभन्दा माथि उठेर पार्टीलाई एकजुट गराउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा राजेन्द्र घिमिरे, मन्धरा चिमरिया पौडेल, लोकराज ढकाल, गीता ओडारी खरेल, विरु दर्नाल, पुष्पराज पौडेल, हेमराज खरेल, तुलाराम अधिकारी, शिव कडेल, पर्शुराम ढुङ्गाना, नारायण पौडेल लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

कार्यक्रममा सहभागी बक्ताहरुले प्रत्येक पालिकास्तरमा निष्पक्ष छानविन समिति गठन गरी जेन–जी आन्दोलनमा भएको क्षति र आक्रमणकारीको पहिचान गरी कारबाहीका लागि सिफारिस गर्नुपर्ने, पार्टीको विवाद न्यायालयको निर्णयसँग अन्त्य भएकाले अब राजनीतिक रुपमा एकजुट बनाएर एकताको महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईले गर्नुभएको थियो ।