२०८२ चैत २९ आइतवार , ०७:११:१६ बजे

Sajhamanch
'

चिकित्सकलाई पनि हप्तामा दुई दिन बिदा चाहिन्छ : डा. रिजाल

आइतवार, चैत २९, २०८२

काठमाडौं । नेपाल चिकित्सक सङ्घले सरकारले अन्य सरकारी कर्मचारीलाई दिए सरह चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पनि हप्तामा दुई दिन बिदा दिन माग गरेको छ ।

सरकारले इन्धन खपत घटाउन शनिवार र आइतवार बिदा दिने निर्णय गरे पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूलाई आइतवार पनि ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएपछि चिकित्सकहरूले यसलाई श्रम शोषण र राज्यको विभेदका रूपमा लिएका छन् ।

राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख परामर्शदाता प्राध्यापक डा. बद्री रिजालले चिकित्सकहरू हप्तामा ८० घण्टाभन्दा बढी काम गर्न बाध्य रहेको र श्रम ऐनले तोकेको ४० घण्टाको सीमाको उल्लङ्घन भएको बताउनुभयो ।

रिजालले इमर्जेन्सी सेवा निरन्तर सञ्चालन गर्दै ओपीडी समय परिमार्जन गरेर आइतवार बिदा दिन सकिने सुझाव दिनुभयो । यदि सरकारले सातै दिन अस्पताल चलाउन चाहन्छ भने अहिलेको दरबन्दी दोब्बर बनाउनुपर्ने उहाँको माग छ ।

चिकित्सकहरूलाई असुरक्षित वातावरण र न्यून सुविधाका बीच थप पेल्ने नीति जारी रहे आन्दोलनमा जान बाध्य हुने र चिकित्सक पलायनको दर अझ बढ्ने डा। रिजालले चेतावनी दिनुभएको छ । उहाँले सरकारलाई तत्काल सरोकारवालाहरूसँग वार्तामा बस्न आग्रह गर्नुभएको छ ।