२०८२ चैत २७ शुक्रवार , ०१:३६:४१ बजे

Sajhamanch
'

बिस्केट जात्रा आजदेखि शुरू हुँदै

शुक्रवार, चैत २७, २०८२

भक्तपुर । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको प्रसिद्ध बिस्केट  (बिस्का:)जात्रा आजदेखि शुरू हुँदैछ । साँझ तौमरीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्‍याई भैलखः (भैरवनाथको रथ) तानातान गरी जात्राको शुरुवात गरिन्छ । अब भक्तपुर ९ दिन ८ रात जात्राको रौनकमा झुम्ने छ ।

काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले भैलखःमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ । तान्नु अघि भैलखःमा खड्ग, तरबार, निशान राख्ने गर्दछ ।

बिस्केट जात्राको पहिलो दिन पाँचतल्ले मन्दिर प्राङ्गणबाट भैलखलाई क्वने र थनेका बासिन्दाले अगाडि पाँच र पछाडि चार वटा डोरी तानातान गरेर आ-आफ्नो टोलतर्फ लैजाने परम्परा रहेको छ । जात्राको मुख्य आकर्षण नै भैलखः तानातान गर्नु हो । यसरी तानातान गर्ने क्रममा थनेतर्फ तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः तमारी हुँदै क्वनेतर्फको तेखापुखुसम्म ल्याएर त्यहाँबाट फर्काएर गःहिटीमा द्योः थातेलाकेगु (भैलखःलाई ठाउँमा पुर्‍याएर) पहिलो दिनको जात्रा सम्पन्न गरिन्छ ।

जात्रामा भैलखः तान्ने परम्परागत रुट क्वने (तल्लो टोल) तर्फ तमारी, बुलुँचा, घट्खा, नासमना, मुलाखु, वंशगोपाल, तेखापुखुसम्म र थने (माथिल्लो टोल)तर्फ क्वाछें, साकोठा, सुकुल ढोका, गोमारी, इनाचो, दत्तात्रयसम्म रहेको छ । जात्राको दोस्रो दिनलाई शुन्य मानिन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई राँगो बलि चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपूजाको मासु प्रसादका रुपमा लाकुलाछेबासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ ।

जात्राको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसींद्यो(हात नभएको लिङ्गो) उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो यसींद्योः भेलुखेलस्थित ल्यसिङखेलमा उभ्याइन्छ । यसींद्योः( लिङ्गो) उभ्याउने जात्रा बिस्काको अर्को आकर्षण रहेको छ । पुरानो वर्षको विदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा यसींद्योः उभ्याउने गरिन्छ ।

यसींद्योः कोखामा झुण्ड्याइएका दुई ध्वजाहरूलाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजाहरू फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ । यसींद्योः उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ । यसींद्योः उठाइसकेपछि राति नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छ । तलेजुमा दुमाजुको विशेष पूजा गरी जात्रा गरिन्छ ।

यसींद्योः उठाएको हेर्नाले शत्रुहरू नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यसलाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यसदिन भैलखः र भद्रकालीको रथलाई  ल्यसिङखेलमा पुर्‍याइन्छ । यसींद्योः उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वाः जात्रा इन्द्रायणी देवीको त्वारिवा जात्रा मनाइन्छ ।

जात्राको पाँचौँ दिन अर्थात् नयाँ वर्ष वैशाख १ गते बिहानैदेखि चुपिङघाट र ल्यसिङखेलमा भक्तजनहरूको भीड हुन्छ । यस दिन स्थानीय टोल टोलमा रहेका विभिन्न बाजागाजा बजाएर परम्परागत पोसाक लगाएर भैरव, भद्रकाली, बेताल र यसींद्योःको दर्शनपूजन गरिन्छ । बेताललाई पोथी कुखुराको बलि दिइन्छ । साँझ भैरवनाइकेहरूले विधिवत् रुपमा पूजा गरी साँझ यसींद्योः ढालिन्छ । त्यसको लगतै भैलखः र भद्रकालीको रथलाई तानेर गाःहिटीमा पुर्‍याएर एकापसमा जुधाई सङ्गम जात्रा मनाइन्छ  । जसलाई स्थानीय भाषामा द्योः ल्वाकिगु जात्रा भनिन्छ । तलेजुमा दुमाजु देवीको जात्रा गरिन्छ ।

जात्राको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ । सातौँ दिन तचपालमा ब्रम्हायणी र महेश्वरीको जात्रा गरिन्छ । यसै दिन तालाक्वमा बटुकभैरव र ज्याठा गणेशको सिन्दूर जात्रा गरिन्छ भने खँलामा परदेशी भीमसेनको खटजात्रा मनाइन्छ । आठौँ दिनमा भक्तपुरका शक्तिशाली देवदेवीहरूलाई आ-आफ्नो द्यो छेंबाट निकाली प्राङगण, सतल र पाटीहरूमा राखेर पूजा गरी विभिन्न प्रसादहरू चढाएर द्यो स्वगं पूजा (सगुन जात्रा) मनाइन्छ । यो जात्रा दिनभरि मनाइन्छ ।

जात्राको अन्तिम दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसींद्यो(हात नभएको लिङ्गो) ढाल्ने जात्रा मनाइन्छ । साँझ चोछें टोलमा छुमा गणेश जात्रा मनाइन्छ । यस दिन भैलखःलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने (माथिल्लो) र क्वने (तल्लो) टोलका बासिन्दाले तानातान गरी जात्रा सम्पन्न गरिन्छ ।

बिस्का जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा तमारीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलो पल्ट जात्रालाई सम्बोधन गर्दा विश्व जात्रा भनी उल्लेख गरिएको संस्कृतीविद् एवम् इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुभयो । भक्तपुरको राजदरबारमा नेपाल संवत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख रहेको प्रा डा श्रेष्ठले बताउनुभयो । तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको संकल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिएको  उहाँले भन्नुभयो ।

प्राडा श्रेष्ठले बिस्का जात्राको प्रचलित किंवदन्ती गलत भएको दाबी गर्नुभएको छ । उहाँले बिस्का जात्रा नितान्त भैरवनाथ र भद्रकालीसँग  सम्बन्धित रहेको र यसको प्रचलित सर्प मारेको, नागनागिनीसँग जोडिएको किंवदन्ती भ्रम  रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नाम, प्रमाण र भाषा विज्ञानकै साहारा लिएर भन्ने हो भन्ने वि को अर्थ हो पुरानो । नवदुर्गा गणलाई वि त्वंकेगु भन्दा तान्त्रिक विधिपूर्वक पुरानो रगत खुवाउने प्रचलन अहिलेसम्म चलिआएको छ । स्यातको अर्थ मारियो हो तर बिस्क, बिस्कामा कहाँ क हरायो त भन्ने मेरो प्रश्न हो ? स्यातबाट कसरी स्का हुन गयो ? यो जात्राको विषयमा अहिलेसम्म चलेका प्रमाण, अभिलेखक र मल्लकालिन राजा जगत प्रकाश मल्लदेखि शाह वंशिय राजा त्रिभुवन, ज्ञानेन्द्र र तत्कालिन प्रधानमन्त्री गिरिजाले फेरेका हलिपतमा हेर्न हो भन्ने विश्वकेतु, विरध्वजा लेखिएको छ । यस मानेमा विश्वनाथको ध्वजा विश्वध्वजा र विरध्वजा हो भन्ने कुरा स्पष्ट छ । यसमा विर भनेर भैरवको वाहान विर बेताललाई भनिएको हो । त्यस मानेमा ध्वाजा विश्वध्वाजा र विरध्वाजा मान्न सकिन्छ । तर जनमानसमा यो नागनागिनी भनेर प्रचलित छ यो गलत हो ।’

जात्रामा पहिलो र अन्तिम दिन भैलखः तान्ने क्रममा झडप हुने गरेको छ । सम्भावित झडप रोकी जात्रालाई व्यवस्थित रुपमा मनाउन दिउँसो ३ बजे भैलखः तानेर ५ बजे जात्रा सम्पन्न गर्ने तयारी गरिएको छ । रातको समयमा जात्रा सञ्चालन हुँदा भैलखःले किचेर मानिसको मृत्यु हुने, जात्रा हुने स्थानका घर र सार्वजनिक पाटीपेटीमा क्षति पुग्ने भएकाले त्यसलाई रोक्न  दिउँसो जात्रा सुरु गर्ने सम्पूर्ण तयारी पुरा भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

जात्रालाई मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न चरणबद्ध रुपमा सरोकारवालाहरूसँग छलफल गरेर विभिन्न रणनीति तयार गरेको बताउँदै प्रजिअ ढकालले यस वर्ष जात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोशाकमा करिब दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने जानकारी दिनुभयो । जात्रामा उच्छृङ्खल गतिविधि गर्ने र हुलदङ्गा मच्चाउन खोज्नेको पहिचान गर्न व्यापक रुपमा सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गर्ने उहाँले बताउनुभयो ।

भैलखःमा अनियन्त्रित तरिकाले धेरै मानिस चढ्नाले रथबाट खसेर घाइते हुनु, च्याप्नु, किचेर ज्यान जाने भएकाले त्यसलाई नियन्त्रण गर्न भैलखःमा भैरव नाइके, गुठी र स्थानीय क्लबका सीमित पदाधिकारीहरू मात्र चढ्ने व्यवस्था गरिएको छ । साथै यस वर्ष रथमा बस्ने सबैले नाङ्गो खुट्टा राख्ने व्यवस्था मिलाएको छ ।

जात्रामा हुलदङ्गा गर्नेको पहिचानका लागि चोकचोकमा सिसी क्यामेरा जडान गरिएको जानकारी दिँदै प्रजिअ ढकालले क्यामेराको फुटेजका आधारमा जात्रापछि पनि नियन्त्रणमा लिई कारबाही गरिने बताउनुभयो । जात्रामा हुलदङ्गा गरी सुरक्षा व्यवस्थामा खलल पुर्‍याउनेलाई पक्राउ गरी प्रचलित कानुनबमोजिम कारबाही गरी विदेश जान नहुने गरी रेकर्ड राखिने बताउनुभयो ।

सम्बन्धित खबर