२०८२ चैत २६ बिहिवार , १२:१०:१२ बजे

Sajhamanch
'

अमेरिका र इरानबीच भोलि पाकिस्तानमा उच्चस्तरीय वार्ता

बिहिवार, चैत २६, २०८२

अमेरिका र इरानबीच भोलि पाकिस्तानको राजधानी इस्लामावादमा उच्चस्तरीय वार्ता हुँदैछ। पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले पश्चिम एसियामा युद्धविरामको घोषणापछि पाकिस्तानले अमेरिका र इरानका प्रतिनिधिमण्डललाई इस्लामाबादमा स्वागत गर्ने बताएका छन्।उनले दुवै देशको नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दै विवाद समाधानार्थ निर्णायक वार्ता गर्न आमन्त्रित गरेका हुन्। पछिल्लो समयमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग घनिष्ठ सम्बन्ध बनाउँदै छिमेकी इरानप्रति संवेदनशील रहेको पाकिस्तान अहिले तेहरान र वासिङ्टनबीच मध्यस्थकर्ताका रूपमा देखापरेको छ।

प्रधानमन्त्री सरिफले ‘इस्लामावाद वार्ता’ दिगो शान्ति प्राप्त गर्न सफल हुने विश्वाससमेत व्यक्त गरेका छन्। तेहरान र वासिङ्टन दुवै राष्ट्रपति ट्रम्पको इरानलाई नष्ट गर्ने समयसीमा समाप्त हुनुभन्दा एक घण्टाअघिमात्र बुधबार बिहान दुई साताको युद्धविरामका लागि सहमति भएका हुन्। पाकिस्तानको मध्यस्थतामा अमेरिका÷इजरायल र इरानबीचको ४० दिने युद्ध रोकिएको हो।

इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि युद्ध सुरु भएको थियो। इजरायल र अमेरिकाले फेब्रुअरी २८ मा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित ५० भन्दा बढी उच्च नेता र अधिकारीको हत्या गरेका थिए। त्यसलगत्तै तेहरानबाट प्रतिक्रियास्वरूप खाडी राष्ट्रहरू, अमेरिकी सैन्य अखडा र इजरायलमाथि जवाफी आक्रमण सुरु गरेको थियो। एजेन्सी

सम्बन्धित खबर