२०८२ चैत २४ मङ्गलवार , ०३:५४:४२ बजे

Sajhamanch
'

सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन

मङ्गलवार, चैत २४, २०८२

टीकापुर । कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशबाट जोगिन सर्वसाधारणलाई सर्प पहिचान गर्ने तरिकाबारे तालिम सञ्चालन गर्न थालिएको छ ।

नगरपालिकाले नगर प्रहरी, बडघर, टोल विकास संस्थाका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा युवालाई विषालु र अविषालु सर्प पहिचान गर्ने, सर्पको टोकाइबाट बच्ने उपाय, डसी हालेमा मानिस र सर्प उद्धार कसरी गर्ने भन्नेबारे तालिम दिन थालेको हो ।

टीकापुर नगरपालिका–१ ले चाुल वर्षमा विपद् व्यवस्थापनका लागि बजेट विनियोजन गरेको थियो । वडाले गर्मीयाम सुरु भएकाले सर्पदंशको जोखिमबाट बच्न सर्वसाधारणलाई पूर्वतयारी गर्न सहज होस भनी १०० वटा टोल विकास संस्था, बडघर, सामुदायिक प्रशिक्षकलाई सर्प पहिचानबारे तालिम दिन थालेको हो ।

“यहाँ सर्पदंशको जोखिम धेरै छ, मानिसले सर्प देख्ने बित्तिकै मार्ने चलन छ”, वडाध्यक्ष मोहन लुहार विकले भन्नुभयो, “सर्प चिनेमा समयमै उपचारमा सहयोग हुन्छ । अनि सर्प पनि वातावरणका लागि महत्वपूर्ण हुन्छन् भन्ने ज्ञान दिन तालिम दिएका हौँ ।”

टीकापुर नगरपालिका तराई क्षेत्र भएकाले विषालु सर्पको जोखिम छ । यहाँ सर्पले डसेको मानिस आत्तिने र कतिपय अविषालु सर्प पनि हुने भएकाले सर्प उद्धार गर्ने जनशक्ति नभएकाले उद्धारकर्ता तयार गर्न थालिएको हो । हरेक नागरिकलाई सर्पको डसाइबाट जोगिन सचेतना फैलाउने र सर्प चिन्न सहज होस् भनी प्रधानाध्यापक, टोल विकास संस्थालगायतलाई तालिम दिइएको प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले जानकारी दिए। “हामीले युवालाई सर्प उद्धारकर्ता तालिम दिनका लागि सूचना आह्वान गरेका छौँ”, उहाँले भन्नुभयो, “अहिले एकजना मात्र उद्धारकर्ता हुनुहुन्छ । उहाँ एक्लैलाई घरभित्र सर्प पसेमा उद्धार गर्न टाढासम्म जान कठिन र भ्याइनभ्याइ हुन्छ ।”

यहाँस्थित टीकापुर अस्पतालमा सर्पदंशको उपचार सेवा छ । अस्पतालका मेडिकल रेकर्डर तथा सूचना अधिकारी पदमराज भट्टका अनुसार अस्पतालतमा चालु आर्थिक वर्षमा हालसम्म ४७ जना सर्पदंशका बिरामी उपचारका लागि आएका छन् ।

नगरपालिकाले २० जनालाई तालिम दिएपछि दुर्घटना बिमा गरेर, हरेक वडालाई पायक पर्ने गरी उद्धारमा स्वयमसेवकका रुपमा परिचालन गर्ने वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिनुभयो ।

सम्बन्धित खबर