
बुटवल । लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेको छ। उक्त घटनामा एक जना घाइते भएका छन्।
घाइते हुनेमा रुपन्देहीको रोहिणी गाउँपालिका–२, खुरहुरियाका विशाल यादव रहेका छन्। उनको बाँया खुट्टाको पिँडुलामा गोली लागेको छ र हाल उनको भीम अस्पताल, भैरहवामा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दका अनुसार रोहिणी गाउँपालिका–४, कोटहवामा लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। सो क्रममा यूपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकलमा सवार तीन जनालाई रोक्न खोज्दा उनीहरू भाग्ने प्रयास गरेका थिए।
प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिने क्रममा ढुंगा प्रहार भएपछि एक राउण्ड हवाई फायरसहित दुई राउण्ड गोली प्रहार गरिएको थियो। त्यसपछि लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको डीएसपी चन्दले जानकारी दिनुभयो।
पक्राउ पर्नेहरूमा विशाल यादवका साथै भारतको महाराजगञ्ज, पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेय रहेका छन्।
प्रहरीले उनीहरूबाट प्रयोग गरिएको मोटरसाइकल जाँच गर्दा फेनरागन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल बरामद गरेको जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
यसैबीच, प्रहरीले काठमाडौँको गौशाला–पिंगलास्थान क्षेत्रमा पनि लागुऔषध कारोबारको आशंकामा गोली प्रहार गरी दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।


