
काठमाडौं । आउँदो शैक्षिक सत्रका लागि विद्यालय तहका पाठ्यपुस्तकको उपलब्धताबारे अनुगमन शुरु भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनुगमन शुरु गरेको हो ।
केन्द्रका पाठ्यक्रम तथा सामग्री शाखाका प्रमुख निमप्रकाश सिंह राठौरले पाठ्यपुस्तक अभाव भएमा मानव स्रोत विकास केन्द्रलगायत पाठ्यक्रम विकास केन्द्र, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका केन्द्रीय कार्यालयलगायत प्रादेशिक कार्यालयमा सूचना दिन सकिने बताउनुभयो ।
नयाँ शैक्षिक सत्र आउँदो वैशाख १५ गतेदेखि शुरु हुँदैछ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छापिएका पाठ्यपुस्तक गएको १६ गतेदेखि बिक्री वितरण शुरु गरिसकेको छ ।
शैक्षिकसत्र लाग्नुअघि छापाइ गरी विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने दायित्वबमोजिम केन्द्रले उत्पादन सकेर वितरण शुरू गरिएको केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले जानकारी दिनुभयो ।


