
काठमाडौं । पूर्वयुवराज पारस शाहलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। बिहीबार बिहान उहाँलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो।
उपचारमा संलग्न चिकित्सका अनुसार बिहीबार बिहान पेसमेकर फेरिएको हो ।
‘मुटुमा समस्या भएको कारणले बैंककमा पेसमेकर हालिएको थियो,’ ती चिकित्सकले भन्नुभयो, ‘ उक्त उपकरणको ब्याट्री सकिएकाले त्यसलाई परिवर्तन गरिएको हो ।’
चिकित्सकका अनुसार शाहको मुटु कमजोर भएपछि पेसमेकर शरीरमा राखिएको हो । ‘अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर छ । दुई तीन दिनमा डिस्चार्ज गर्न सकिन्छ,’ ती चिकित्सकले भने ।
पेसमेकर मुटुलाई कृतिम चाल दिने यन्त्र हो । व्यक्तिलाई आवश्यक पर्ने मुटुको चाल मुटुले उत्पादन गर्न नसक्दा शरीरमा पेसमेकर राखिने गर्छ ।
मुटुले चाल उत्पन्न गर्न नसक्दा रिगाँटा लाग्ने देखि होस् नै हराउने सम्मको अवस्था सिर्जना गर्छ । त्यस्तो व्यक्तिका लागि मुटुको चाल निकाल्नका लागि पेस मेकर उपकरण शरीरमा राखिन्छ ।


