
- रोहित काफ्ले
झापा । एक महिनाअघि कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० प्रतियोगिता सफलतापूर्वक आयोजना भएको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा आजदेखि नेपाल–भारत मैत्रीपूर्ण महिला टी–२० प्रतियोगिता सुरु भएको छ ।
पहिलो खेलमा दून हेरिटेज सिलिगुडी विजयी भएको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको सिलिगुडीले मौसमका कारण १२ ओभरमा सीमित गरिएको खेलमा ४ विकेट गुमाउँदै ६४ रनको मध्यम योगफल तयार गरेको थियो । त्यसमा ह्याप्पी सरकारले ३८ रनको योगदान गरिन् ।
जवाफमा मिलन क्रिकेट क्लवले निर्धारित ८ विकेट गुमाउँदै ५३ रन मात्र बनायो ।
विजयी टोलीबाट सर्वाधिक रन बनाउने ह्याप्पी सरकारले खेलको म्यान अफ द म्याचको पुरस्कार जितिन् ।
बिहीबार भारतको अर्को टोली अल्पाइन स्पोर्टिङ क्लव सिक्किम र आजको विजेता सिलिगुडीबीच हुनेछ भने शुक्रबार मिलन क्रिमकेट क्लव झापा र सिलिगुडीबीच प्रतिस्पर्धा हुने प्रतिायेगिताका व्यवस्थापक राजन भट्टराईले जानकारी दिए । फाइनल खेल शनिबार हुनेछ ।
विभिन्न सरकारी निकाय तथा निजी क्षेत्रको सहयोगमा व्यवस्थित बन्दै गइरहेको उक्त मैदानमा नेपाल–भारत मैत्री संघ कोशी प्रदेशको आयोजनामा पहिलोपटक महिला क्रिकेट प्रतियोगिता सुरु भएको हो ।
खासगरी, नेपाल–भारतबीचको महिला क्रिकेटलाई परिचित गराउने र महिला क्रिकेट सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले पहिलो पटक मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरिएको नेपाल–भारत मैत्री संघ झापा अध्यक्ष प्रदीपमणि रेग्मीले बताए ।
संघका कोशी प्रदेश अध्यक्ष छत्रबहादुर गिरी, सार्क चेम्बर अफ कमर्सका अध्यक्ष चण्डीराज ढकाल एवम् नेपाल भारत मैत्री संघका पूर्व केन्द्रीय अध्यक्ष ओमप्रकाश सरावगीले संयुक्त रुपमा उद्घाटन गरेको प्रतियोगिताको पहिलो खेल नेपालको मिलन क्रिकेट क्लव झापा र भारतको दून हेरिटेज सिलिगुडीबीच भएको थियो ।
प्रतियोगिताका संयोजक एवम् भद्रपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष गौरव सुब्बा ‘मनोज’ले स्वागतसहित औचित्य माथि प्रकाश पारेको प्रतियोगिता उद्घाटन समारोह संघका कोशी प्रदेश सचिव चन्द्रमणि पौडेलले सञ्चालन गरेका थिए ।
मेची बहुमुखी क्याम्पसका प्रमुख देवीप्रसाद आचार्य र पूर्व सांसद पुष्पराज पोखरेलले यस्ता खेलहरुको माध्यमबाट छिमेकी मुलुकहरु बीचको सम्बन्धलाई थप सदृढ बनाउने विश्वास व्यक्त गर्दै शुभकामना मन्तव्य राखेका थिए ।


