२०८२ चैत ९ सोमवार , ०४:४२:४९ बजे

Sajhamanch
'

नवनिर्वाचित सांसदको शपथ र संसद् बैठकका लागि तयारी अन्तिम चरणमा

सोमवार, चैत ९, २०८२

काठमाडौं । गएको फागुन २१ गते भएको चुनावबाट निर्वाचित सांसदहरूको शपथ र संसद् बैठकका लागि तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको शपथ आउँदो ११ गते हुने भएको छ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ज्येष्ठ सदस्य हुनुहुन्छ । उहाँ समानुपातिकतर्फबाट सांसद बन्नुभएको हो ।

ज्येष्ठ सदस्यको हैसियतमा उहाँले ११ गते बिहान राष्ट्रपतिसमक्ष शपथ लिनुहुनेछ । त्यसपछि भोलिपल्ट १२ गते उहाँले प्रतिनिधिसभाका अरू सांसदहरूलाई शपथ गराउनुहुनेछ ।

नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते गर्ने तय भएको सङ्घीय संसद् सचिवालयले यसअघि नै जनाइसकेको छ । सांसदको शपथ तथा संसद् अधिवेशन सञ्चालनका लागि सभा कक्षलगायतको सबै तयारी पूरा भएको छ ।

सिंहदबारभित्र निर्माणाधीन संसद् भवन तयार हुन नसकेपछि नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय कक्षलाई सांसदको शपथ ग्रहण तथा संसद् अधिवेशन सञ्चालनका लागि तयारी गरिएको हो ।

चुनावको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान छ । बहुउद्देश्यीय सभाकक्षमा कुर्सीको व्यवस्थापन भइसकेको र माइक, क्यामेरालगायत मिलाउने काम पनि अन्तिम चरणमा पुगेको सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर