
(सम्पादकीय)
नेपालमा फागुन २१ मा सम्पन्न मध्यावधि निर्वाचनले देशको राजनीतिक परिदृश्यलाई एकाएक उल्ट्याइदिएको छ। मतदाताले दिएको म्यान्डेट केवल सरकार परिवर्तनको लागि मात्र होइन, लामो समयदेखि स्थापित राजनीतिक अभ्यासप्रतिको असन्तुष्टिको स्पष्ट अभिव्यक्ति पनि हो। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ नजिकको सिट जित्नु र परम्परागत ठूला दलहरूले लज्जास्पद हार व्यहोर्नु, लोकतन्त्रभित्रको गहिरो मनोविज्ञानलाई उजागर गर्ने घटनाक्रमका रूपमा हेर्न सकिन्छ।
यसअघिको सम्पादकीय “मध्यावधि निर्वाचन : लोकतन्त्र र पुराना दलहरूको परीक्षाको घडी” शीर्षकमा उठाइएका प्रश्नहरू थिए— जनताले के पुराना दलहरूलाई फेरि विश्वास गर्छन् कि विकल्प खोज्छन्य ? यस निर्वाचनले स्पष्ट रूपमा जवाफ दिएको छ, जनताले विकल्प रोजेका छन्। तर यो विकल्पप्रतिको समर्थन केवल आकर्षण हो कि दीर्घकालीन विश्वासको आधारमा गरिएको निर्णय हो भन्ने प्रश्न अझै खुला छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको अप्रत्याशित सफलता केवल प्रचार रणनीतिका कारण मात्र होइन। यसमा परम्परागत दलहरूको विफलता, आन्तरिक कलह, भ्रष्टाचारप्रतिको अनदेखा र जनअपेक्षाबाट क्रमशः टाढिँदै गएको व्यवहार पनि प्रमुख कारकका रूपमा देखिन्छन्। लामो समयदेखि सत्तामा रहेका दलहरूले जनतासँगको सम्बन्धलाई केवल चुनावी समीकरणमा सीमित राख्दा, जनताले आफ्नो असन्तुष्टि मतमार्फत प्रकट गरेको प्रतित हुन्छ । तर यस परिणामलाई केवल “पुरानाको हार र नयाँको जीत”को सरल फ्रेममा हेर्नु पर्याप्त हुँदैन। लोकतन्त्रमा जनादेश सधैं जिम्मेवारीसँग जोडिएको हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको सिट संख्या जति ठूलो छ, त्यससँगै आउने उत्तरदायित्व पनि उत्तिकै गम्भीर छ। शासन सञ्चालन, नीतिगत स्पष्टता र संस्थागत स्थायित्वजस्ता विषयहरूमा नयाँ शक्तिले कस्तो प्रदर्शन गर्छ भन्ने अबको केन्द्रीय प्रश्न हुनेछ।
यहाँ अर्को महत्वपूर्ण पक्ष के हो भने, यो परिणामले नेपालमा पार्टी प्रणालीको पुनर्संरचनाको संकेत पनि दिन्छ। परम्परागत दलहरूको कमजोर प्रदर्शनले उनीहरूको वैचारिक पुनरावलोकन, नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको आवश्यकता देखाएको छ। यदि यी दलहरूले यसलाई आत्मसमिक्षाको अवसरका रूपमा नलिएर केवल अस्थायी पराजयका रूपमा लिए भने भविष्यमा उनीहरूको अस्तित्व झनै संकटमा पर्न सक्छ। साथै, जनताले नयाँ शक्तिलाई दिएको विश्वासलाई स्थिर शासनमा रूपान्तरण गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ। नेपालको विगतको अनुभवले देखाउँछ कि अत्याधिक अपेक्षा र सीमित संस्थागत क्षमताबीचको अन्तरले अस्थिरता निम्त्याउन सक्छ। नयाँ दलले जनआकांक्षालाई व्यवस्थापन गर्दै, व्यवहारिक र चरणबद्ध सुधारतर्फ अघि बढ्न सक्नुपर्छ। अन्यथा, उत्साह चाँडै निराशामा रूपान्तरित हुने जोखिम रहन्छ।
यो निर्वाचनले एउटा सकारात्मक संकेत पनि दिएको छ— मतदाता अझ सजग र निर्णायक बन्दै गएका छन्। उनीहरू केवल परम्परागत निष्ठामा सीमित छैनन्, काम, पारदर्शिता र उत्तरदायित्वको आधारमा निर्णय गर्न थालेका छन्। यसले लोकतन्त्रलाई परिपक्व बनाउने सम्भावना बढाउँछ। तर यससँगै, जनमतको तीव्र उतारचढावले दीर्घकालीन नीतिगत स्थायित्वमा चुनौती पनि सिर्जना गर्न सक्छ।
अन्ततः, मध्यावधि निर्वाचनको यो परिणामलाई न त अत्यधिक उत्साहका साथ स्वागत गर्ने अवस्था छ, न त निराशाका साथ खारेज गर्ने नै । यो एक संक्रमणकालीन संकेत हो— जहाँ पुराना राजनीतिक संरचनाहरू चुनौतीमा छन् र नयाँ संरचनाहरू परीक्षणको चरणमा। अबको समय “विकल्प रोज्ने” मात्र होइन, “विकल्पलाई सफल बनाउने” जिम्मेवारीको पनि हो। यस परिप्रेक्ष्यमा, लोकतन्त्रको असली परीक्षा अझै बाँकी नै छ। जनताले आफ्नो भूमिका निर्वाह गरिसकेका छन् । अब राजनीतिक दलहरू— पुराना र नयाँ दुवैले त्यो विश्वासलाई कति इमानदारीपूर्वक सम्बोधन गर्छन्, त्यसले नै नेपालको आगामी राजनीतिक दिशा निर्धारण गर्नेछ।


