
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।बैठकमा सभापति गगन थापाको राजीनामा लगायत पछिल्लो राजनीतिक अवस्था र निर्वाचनमा भएको पराजयको बारेमा छलफल हुने कांग्रेसले बताएको छ।
उपसभापति विश्वप्रकाश शर्माले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने संकेत दिएका छन्। निर्वाचनमा पार्टीले व्यहोरेको हारको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले बुधबार शर्मालाई राजीनामा बुझाएका थिए।
सभापतिले राजीनामा उपसभापतिलाई बुझाउनुपर्ने र उपसभापतिले केन्द्रीय कार्यसमिति बैठकमा त्यसलाई प्रस्तुत गर्नुपर्ने व्यवस्था पार्टी विधानमा छ।बैठकको प्रारम्भमा नै सभापति थापाको राजीनामा पत्रमाथि छलफल गरेर टुंगोमा पुगिने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए।बैठकमा उपसभापति शर्माले निर्वाचनको प्रारम्भिक समीक्षा, सभापतिको राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव एकसाथ पेस गर्ने तयारी छ।
सिङ्गो केन्द्रीय कार्यसमितिले सर्वसम्मतिबाट थापाको राजीनामा अस्वीकृत गर्ने सम्भावना रहेको एक पदाधिकारीले बताए।
पार्टी र आफू स्वयंले निर्वाचनमा हार व्यहोरेपछि नै सभापति थापाले राजीनामा दिने मनस्थिति बनाएका थिए।उपसभापति शर्मासँग २५ फागुनमा भएको भेटमै थापाले राजीनामा दिने जानकारी गराएका थिए। त्यसपछि शर्माले नै थापाको राजीनामा रोक्दै आएका थिए।
पूर्वसभापति देउवा पक्षका केही नेताले भने चुनावमा अपेक्षित परिणाम नआएपछि नैतिकताको प्रश्न उठाउँदै सामाजिक सञ्जालमा थापाको राजीनामा माग्दै आएका थिए।देउवा पक्षकै पनि कतिपय नेताले सभापति थापालाई राजीनामा नदिई पार्टीलाई एकसाथ अघि बढाउँदै विशेष महाधिवेशनको तयारीमा जुट्न सुझाव दिएका थिए।उपसभापति शर्मा यति बेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने रहेको बताउँछन्।सभापति थापाले राजीनामा पत्रमा आफ्नो निर्णय पराजित मानसिकताको उपज नभएर जिम्मेवारीबोधको अभिव्यक्ति रहेको उल्लेख गरेका छन्।
सभापतिबाट राजीनामा दिए पनि पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट आफू अलग नभएको उनले जनाएका छन्।२७–३० पुसमा भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग गरेर थापा नेतृत्वको नयाँ कार्यसमिति चयन गरेको थियो।
विशेष महाधिवेशनले पार्टी रूपान्तरणका लागि नयाँ नीतिहरूसमेत पारित गरेको थियो। लगत्तै निर्वाचनमा होमिएको कांग्रेसले बदलियो कांग्रेस, बदल्छौं देश, अबकी बार सय पार जस्ता नारा अघि सारेको थियो।
त्यसका बाबजुद सभापति थापा स्वयं सर्लाही–४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भए भने कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सिट मात्रै ल्यायो।त्यसपछि पूर्वसभापति देउवा पक्षको एउटा समूहले थापामाथि नैतिक प्रश्न उठाउँदै आएको थियो।नेताहरूका अनुसार थापाले राजीनामा दिए नियमित महाधिवेशनमा सभापतिको प्रतिस्पर्धी हुन बाटो खुल्नेछ। तर, केन्द्रीय कार्यसमिति उनको राजीनामा स्वीकृत गर्ने पक्षमा देखिँदैन। महामन्त्री प्रदीप पौडेलले राजीनामा स्वीकृत हुन्छ कि भन्ने डरले सभापतिले राजीनामा नदिएको बताए।


