२०८२ फागुन १४ बिहिवार , ११:०९:४९ बजे

Sajhamanch
'

एमाले अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्र झापा ५ का मतदातामाझ

बिहिवार, फागुन १४, २०८२

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा नेकपा एमाले एक्लै चुनावी मैदानमा रहेको बताउनु भएको छ ।

नेकपा एमालेलाई बहुमतसहित निर्णायक शक्तिको रुपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता भएको सबै नागरिकले बुझिसकेको समेत उहाँको दावी छ ।

चुनावी प्रचार तथा मतदाता भेटघाटका क्रममा बिहीबार झापाको कमल गाउँपालिकामा केन्द्रित हुनुभएका पूर्वप्रधानमन्त्री ओलीले विभिन्न सञ्चार माध्यमसँगको कुराकानीमा चुनाव पछि देश सम्हाल्न नेकपा एमाले तयार रहेको प्रष्ट पार्नुभएको हो ।

उहाँले नेकपा एमालेले राष्ट्रिय स्वाभिमान, अन्तर्राष्ट्रिय सम्वन्ध तथा विकास र समृद्धिका लागि निर्वाह गरेको भूमिकाका कारण एमाले नै अहिलेको आवश्यकता हो भनेर बुझ्‌नुलाई अन्यथा लिन नहुने पनि बताउनु भयो ।

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार ओली हाल निर्वाचन क्षेत्रका विभिन्न बस्ती बस्तीमा पुगेर मतदातासँगको भेटघाटमा व्यस्त रहनु भएको छ ।

यसैक्रममा पूर्वप्रधानमन्त्री ओली कमल ५ स्थित सिम्लेमा पुग्दा स्थानीयले भूमि सम्बन्धी समस्या समाधान गरिदिन आग्रह गरेका थिए । सडक तथा पूल निर्माण भए पछि जनजीवन सहज भए पनि अझैसम्म अव्यवस्थित बसोबासको समस्या समाधान नभएको स्थानीयको गुनासो थियो ।


निर्वाचन प्रचार अभियानका साथ एमाले अध्यक्ष ओली कमल ३ को सानोकेर्खामा पुग्दा स्थानी किरातेश्वर तथा बाल्मिकी आश्रम तथा सिमसारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिदिन स्थानीयले माग गरेका थिए । यी स्थानहरुको पूर्वाधार विकास गरी धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गराउन सकिने स्थानीयको भनाई छ ।

सम्बन्धित खबर