
मेचीनगर । झापा क्षेत्र नं. १ का लागि नेकपा एमालेका उम्मेदवार रामचन्द्र उप्रेतीले घरदैलो अभियानका क्रममा जनताले धेरै ठूला कुरा नमागको बताउनु भएको छ । घरदैलो अभियानमा व्यस्त उम्मेदवार उप्रेतीले जनताले मागेभन्दा ठूला र धेरै काम गर्न सकिने बताउनु भएको हो ।
‘जनताले ठूला कुरा मागेकै छैनन्’ सहकारी अभियानमा लामो समय नेतृत्व गर्नुभएको उप्रेतीले भन्नुभयो– ‘जनताको जीवनसँग जोडिएका अपरिहार्य वस्तुहरु रहेका छन् । जस्तो कृषकलाई चाहिने अत्यावश्यक मल, विऊ, सिँचाई, कृषिका औजारहरु लगायत छन् ।

त्यस्तै चिया बगानका मजदुरका ज्याला, हात्तीको समस्या, बाँदर आतंक, जीवजन्तुहरुको आक्रमण, निजी तथा सरकारी कार्यालयका कर्मचारीहरुको सेवा सुविधा, बाटो, कुलो, पानी, विजुली, इन्टरनेट लगायतका समस्या जनताले राखेका छन् ।’
आफूले जितेर गएपछि इमानदारीपूर्वक काम गर्दा जनताले मागेभन्दा धेरै काम गर्न सकिने दावी गर्दै जनताको आर्थिकस्थिति उठाउन एनएमसी मार्फत सामाजिक भूमिका निर्वाह गरिरहेको र देश विकासका लागि ठूला ठूला परियोजनाहरु ल्याएर काम गर्न पछि नपर्ने आश्वास्त पार्नुभयो ।

घरदैलो कार्यक्रममा एमालेका प्रत्यक्षतर्फका उम्मेदवार उप्रेतीसँगै समानुपातिकका उम्मेदवार लता प्रसाई र पार्टीका केन्द्रदेखि टोल कमिटीका नेता तथा कार्यकर्ताहरु एकढिक्का भएर लागेको जनाइएको छ।



