
काठमाडौं । चुनावमा बालबालिकाको प्रयोग नगर्न राजनीतिक दल, नागरिक समाज, विद्यालय, शिक्षक तथा अभिभावकलाई राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति निकाल्दै चुनाबलाई शान्तिपूर्ण, भयरहित र मानवअधिकारमैत्री वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई धैर्य र संयमता अपनाउन आह्वान गर्नुभएको छ ।
साथै शान्तिसुरक्षामा असर पार्ने गतिविधि बन्द गर्न, बालबालिकाको प्रयोग नगर्न/नगराउन र नागरिकको मानव अधिकारको सम्मान गर्न आयोगले नेपाल सरकारसहित सबै सम्बद्ध पक्षलाई आग्रह गरेको छ । चुनाव नजिकिँदै गर्दा विभिन्न ठाउँमा भइरहेका घटनाले शान्तिसुरक्षा र चुनाबको वातावरणमा असर पार्न सक्ने भन्दै राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले देशव्यापी चुनावको अनुगमनलाई तीव्र बनाएको जनाएको छ । पछिल्लोपटक दाङ लगायतका जिल्लामा विभिन्न राजनीतिक दलका कार्यकर्ताबीच उत्पन्न विवाद तथा रौतहट र पर्सालगायत ठाउँमा समूह–समूहबीच भएका झडपका कारण निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै आयोगले यसले शान्तिसुरक्षा र निर्वाचन प्रक्रियामा थप चुनौती थपिएको जनाएको छ ।
आयोगका अनुसार राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताबाट एकअर्काप्रति गरिने अमर्यादित र घृणायुक्त अभिव्यक्तिले निर्वाचन वातावरणलाई अस्वस्थ बनाउन सक्ने खतरा बढेको छ । सामाजिक तथा सांस्कृतिक सद्भाव विथोलिने प्रकारका अभिव्यक्ति र सामग्री प्रकाशन–प्रसारण नगर्न आयोगले आग्रह गरेको छ ।


