२०८२ फागुन १२ मङ्गलवार , ०४:१२:३२ बजे

Sajhamanch
'

रविले घृणा फैलाउने अभिव्यक्ति दिएको पूर्वसभामुख घिमिरेको टिप्पणी

मङ्गलवार, फागुन १२, २०८२

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निवर्तमान सभामुख देवराज घिमिरे विरूद्ध घृणा फैलाउने वक्तब्यप्रति उहाँले आपत्ती जनाउनु भएको छ ।

आज बिहान बिर्तामोडमा आइपुगेका सभापति लामिछानेले सभामुखको भूमिकामा रहेको समयमा घिमिरेले ‘जनताको आवाज उठाउँदा माइक काट्ने’ भनी आरोप लगाएकोमा प्रेस विज्ञप्तिमार्फत गम्भीर आपत्ती जनाउनु भएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक अभ्यासमा, उम्मेदवार वा दलले आफ्नो कार्यक्रम, योजना र जनताका लागि आफ्ना एजेन्डाहरू प्रस्तुत गर्दछन् । घृणा, व्यक्तिगत आरोप वा विभाजन फैलाउने कुरा चुनावी प्रतिस्पर्धामा लामो समयसम्म टिक्दैन ।

जहाँसम्म संसदमा हरेक सदस्यले आफ्नो अभिव्यक्ति गर्ने अधिकार छ । तर, संसदीय अभ्यास अनुसार सबै वक्ताहरूको वक्तव्यलाई समान अवसर दिन र क्रमिक रूपमा छलफल सम्पन्न गर्न समय निर्धारण हुन्छ । माइक काट्ने काटिने विषय सभामुखको व्यक्तिगत विचारले होइन, संसदमा पूर्वनिर्धारित समय र नियमावली अनुसार गरिएको हुन्छ ।

संसदीय अभ्यासको सामान्य जानकारी हुनेले यति कुरा नबुझ्ने भन्ने हुँदैन । उहाँ संसदको अभ्यास गरेर आउनुभएको व्यक्ति हो । संसदको वेबसाइटमा गएर हेर्न सकिन्छ( मैलेमात्र होइन उपसभामुख वा सभाको चेयर गरिरहेका अन्य माननीय भएका बेलामा पनि माइक काटिएको छ । अझ बढी काटिएको हुनुपर्दछ ।

रविजीले फैलाएको घृणाप्रति म खेद व्यक्त गर्दछु । तपाईंलाई जवाफ दिँदै म पनि भन्न सक्छु आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानूनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ ? तर म आक्षेप र आफू माथि देखिन अरूलाई अपराधी देख्ने प्रवृत्तिको पक्षमा छैन । आफू माथि प्रतिशोध भएको भन्दै जनतालाई भावनामा बहकाउँदै अरूविरूद्ध अफवाह, घृणा र लान्छाना नलाउन अपिल गर्दछु ।

झापा क्षेत्र नम्बर २ मा एउटै कार्यकालका सभामुख, उपसभामुख र प्रतिनिधि सभा सदस्य नै उम्मेदवार रहेकाले मैले प्रतिस्पर्धी उम्मेदवारबारे टिप्पणी नगर्ने प्रतिबद्धता यसअघि नै गरिसकेको स्मरण गराउँदछु ।’

सम्बन्धित खबर