२०८२ फागुन १२ मङ्गलवार , ०१:४६:५२ बजे

Sajhamanch
'

चुनाव प्रचारमा बालबालिकाको प्रयोग नगर्न आयोगको आह्वान

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावमा सहभागी राजनीतिक दल वा उम्मेदवारलाई प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आह्वान गरेको छ ।

आयोगले विज्ञप्ति निकालेर दल वा उम्मेदवारले आफ्नो झण्डा वा चुनाव चिह्न बोक्ने कार्य, सांस्कृतिक कार्यक्रम, र्‍याली वा यस्तै अन्य गतिविधिमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको हो ।

दल वा उम्मेदवारले आफ्नो चुनावी अभियानका क्रममा बालबालिका सहभागी गराउने गरेको र विद्यालय समयमा विद्यालय नजिकै चुनावी गतिविधिसम्बन्धी कार्यक्रम आयोजना गरी शैक्षिक कार्यमा अवरोध सिर्जना भएका विषयहरूमा उजुरी तथा गुनासो प्राप्त भएको भन्दै त्यस्ता काम नगर्न आयोगले आह्वान गरेको हो ।

निर्वाचन आचारसंहिता २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था छ ।

निर्वाचन आचारसंहिताको उल्लङ्घन भएमा १ लाख रुपैयाँसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने व्यवस्थासमेत रहेको आयोगले स्मरण गराएको छ ।

सम्बन्धित खबर