२०८२ फागुन १२ मङ्गलवार , ०१:२६:१७ बजे

Sajhamanch
'

वसन्तपुरमा चीर ठड्याएसँगै शुरू भयो होली

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं । काठमाडौंको हनुमानढोका वसन्तपुरमा चीर ठड्याइएसँगै यो वर्षको होली पर्व शुरू भएको छ । आज बिहान ७ बजेर १३ मिनेटको साइतमा चीर ठड्याइएको हो ।

बिहान साइतमा रङ्गीचङ्गी कपडाहरू झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको झन्डै ३२ फिट अग्लो बाँसको तीन खण्डे चीर ठड्याएको हो । त्यसपछि चीरलाई परिक्रमा गर्दै एकआपसमा अबीर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न थालिएको छ ।

यस अवसरमा गुरुजुको पल्टनले हर्षबढाइँ गरेको छ । चीर उठाएको हेर्न वसन्तपुरमा भीड लागेको थियो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको शुभ साइतमा चीर ठड्याएपछि फागुन शुक्ल अष्टमीदेखि काठमाडौं उपत्यकालगायत देशभर होलीको रौनक शुरू हुन्छ । तीन तले चीरलाई फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिएको मानिन्छ ।

यस वर्षको होली काठमाण्डौलगायत पहाडी जिल्लाहरूमा फागुन १८ र तराई–मधेशका जिल्लाहरूमा फागुन १९ गते परेको छ ।

सरकारले होली पर्व मनाउन सार्वजनिक बिदा दिँदै आएको छ ।

मङ्गलवार, फागुन १२, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर