
काठमाडौं । प्रमुख राजनीतिक दलहरूले जलवायु परिवर्तनको मुद्दालाई यसपटकको चुनावी घोषणापत्रमा प्राथमिकताका साथ समावेश गरेका छन् ।
जलवायु परिवर्तनका कारण देशले भोगिरहेका गम्भीर समस्या र जनजीवनमा परेको प्रभावलाई मध्यनजर गर्दै दलहरूले यस विषयलाई नीतिगत प्राथमिकतामा राखेका हुन् ।
जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भएपनि प्रभावका हिसाबले नेपाल उच्च जोखिमयुक्त देशका रूपमा रहेको छ । विशेषगरी हिमाली क्षेत्रमा प्रत्यक्ष असर देखिनु, हिमालमा हिउँ घट्दै जानु, अत्यधिक तथा न्यून वर्षा, बेमौसमी वर्षा, बाढी–पहिरोजस्ता विपद् बढ्दै जानुका कारण यो विषय साझा चासोको रूपमा अघि आएको हो ।
ग्रामीण बस्तीमा पानीका मुहान सुक्दै गएका छन् भने स्वच्छ पिउने पानीको अभावले नागरिक हैरान छन् । संविधानले प्रत्याभूत गरेको स्वच्छ पिउने पानीको मौलिक हक व्यवहारमा कार्यान्वयन हुन चुनौती देखिएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जैविक विविधतामा आधारित प्राङ्गारिक, वातावरणमैत्री र जलवायु अनुकूल कृषि प्रणालीलाई प्राथमिकता दिने घोषणा गरेको छ । देशलाई प्राङ्गारिक देश घोषणा गर्ने, हानिकारक रासायनिक विषादी नियन्त्रण गर्ने तथा रैथाने बाली संरक्षण गर्ने नीति अघि सारेको छ ।
नेपाली कांग्रेसले ऊर्जा, यातायात, उद्योग र पूर्वाधार क्षेत्रमा संरचनागत सुधार गर्दै सन् २०४५ सम्म नेट जिरो उत्सर्जन राष्ट्र बन्ने राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्ने जनाएको छ । प्रवद्र्धनमार्फत प्रदूषण न्यूनीकरण गर्ने योजना कांग्रेसको छ ।
नेकपा एमालेले जलविद्युत्, सौर्य र ग्रीन हाइड्रोजनलगायत नवीकरणीय ऊर्जाको उत्पादन, प्रसारण र वितरण विस्तार गरी नेपाललाई दक्षिण एशियाको स्वच्छ ऊर्जा निर्यातक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । जैविक विविधता, वन, जलाधार, सिमसार क्षेत्र तथा स्थानीय पारिस्थितिक प्रणाली संरक्षणलाई एमालेले प्राथमिकतामा राखेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले जलवायु अनुकूलन र लचिलोपनलाई विकास योजना, पूर्वाधार डिजाइन र बजेट प्रक्रियासँग आबद्ध गर्ने नीति अघि सारेको छ । राष्ट्रिय जलवायु वित्त रणनीति स्वीकृत गरी विश्वव्यापी कोषहरूबाट क्षतिपूर्ति र अनुदान प्राप्त गर्न उच्चस्तरीय कूटनीतिक पहल गर्ने योजना छ । जलवायु कूटनीति मार्गचित्र स्वीकृत गरी अन्तर्राष्ट्रिय मञ्चमा नेपालको एजेन्डा सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाएको छ ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतका दलहरूले पनि जलवायु परिवर्तनका मुद्दालाई घोषणापत्रमा समेटेका छन् । समग्रमा चुनावमा जलवायु परिवर्तनको मुद्दा दलहरूबीच साझा प्राथमिकताको विषय बनेको देखिन्छ । यी प्रतिबद्धताहरू कत्तिको कार्यान्वयनमा रूपान्तरण हुन्छन् भन्ने विषय महत्त्वपूर्ण रहनेछ ।


