२०८२ फागुन ११ सोमवार , ०१:१५:५२ बजे

Sajhamanch
'

चुनाव चिह्नको भौतिक स्वरुप प्रयोग गरेर प्रचार गर्न रोक

सोमवार, फागुन ११, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रचारप्रसार गर्दा चुनाव चिह्नको भौतिक स्वरुप प्रयोगमा रोक लगाएको छ । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले घण्टी बजाउँदै आचारसंहिता उल्लंघन गरेको भन्दै व्यापक गुनासो आएपछि आयोगले यस्तो निर्णय लिएको हो ।

आयोगले विज्ञप्ति निकालेर राजनीतिक दल वा उमेदवारले कपडा, तुल, फ्लेक्स वा कागजमा छापी वा प्रिन्ट गरी तोकिएको मापदण्डबमोजिम आफ्नो चुनाव चिह्नको प्रचारप्रसार गर्न सक्ने जनाएको छ । कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामग्रीबाट बनेको भौतिक स्वरुपका निर्वाचन चिह्न लिई प्रचारप्रसार गर्दा सुरक्षा जोखिम बढेको भन्ने उजुरी आएको आयोगको भनाइ छ ।

‘प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा भाग लिने राजनीतिक दल वा उम्मेदवारले आम जनमानसको सुरक्षामा असर पर्ने किसिमबाट भौतिक स्वरुपका कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामाग्रीबाट बनेका निर्वाचन चिह्न प्रयोग गरी निर्वाचन प्रचारप्रसार नगर्न तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड (ड) मा तोकिएबमोजिमको मापदण्डबमोजिम दलको झन्डा र चुनाव चिह्नको माध्यमबाट मात्र निर्वाचन प्रचारप्रसार गर्न गराउन र त्यसको विपरीत गरेको देखिएमा आचारसंहिता प्रतिकूल हुने व्यहोरा सरोकारवाला सबैमा जानकारीका लागि अनुरोध छ,’ आयोगले निकालेको विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित खबर