
काठमाडौं । सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले इथानोल मिश्रणसम्बन्धी आदेश–२०८२ चाँडै राजपत्रमा प्रकाशन गरेर कार्यान्वयनमा लैजाने बताउनुभयो ।
झन्डै दुई दशकदेखि अध्ययन हुँदै आएको यो विषयमा मन्त्रिपरिषद्ले गएको पुसमा औपचारिक निर्णय गरेको हो । मन्त्री सिन्हाका अनुसार १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक झन्डै ६ अर्ब रुपैयाँको पेट्रोलियम आयात घटाउन सकिनेछ, जसले व्यापार घाटा कम गर्न पनि सहयोग पुग्नेछ । यसबाट उखुजस्ता कृषि उत्पादन बढ्ने र नयाँ रोजगारी सृजना हुने पनि अपेक्षा छ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले यो नीति पूर्ण कार्यान्वयनमा आउन डेढ वर्षसम्म लाग्न सक्ने बताउनुभयो । निजी क्षेत्रका प्रतिनिधिले भने कच्चापदार्थ पर्याप्त भएपनि उद्योग स्थापनाका लागि प्रशासनिक झन्झट हटाउन आवश्यक रहेको बताएका छन् ।
नेपाल चिनी उत्पादक सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले कार्यान्वयन योजना अझै स्पष्ट नभएको बताउनुभयो भने उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले मूल्य, गुणस्तर र बजार नियमनको स्पष्ट व्यवस्था नभई आयात प्रतिस्थापनको लक्ष्य पूरा नहुने चेतावनी दिनुभयो ।


