२०८२ फागुन ९ शनिवार , ०१:१३:१३ बजे

Sajhamanch
'

झापा ४ मा एमालेकाे घरदैलाे केन्द्रित प्रचार अभियान

शनिवार, फागुन ९, २०८२

झापा । नेकपा एमालेले झापा क्षेत्र नम्बर ४ मा आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चुनावी प्रचार–प्रसारलाई तीव्रता दिएको छ।

क्षेत्रका २८ वटै वडामा चुनावी माहोल सिर्जना गर्न एमाले अग्रस्थानमा देखिएको छ भने पार्टीका जनवर्गीय संगठनहरूलाई समेत सक्रिय बनाउँदै व्यापक अभियान सञ्चालन गरिएको छ।

एमालेका उम्मेदवार एलपी साँवा लिम्बुले आफूले गरेका विकास निर्माणका काम र एमालेले देशलाई दिएको योगदानका आधारमा जनताबाट पुनः विश्वास पाउने दाबी गरेका छन्। उनले देश संकटमा परेको बेला र विकासको गति अघि बढाउनुपर्ने अवस्थामा सधैं एमालेको आवश्यकता परेको उल्लेख गर्दै यसपटक पनि बलियो जनमत आवश्यक रहेको बताए।

उनका अनुसार एमाले नेतृत्वको सरकारका समयमा राष्ट्रिय स्वाभिमान जोगाउने, विशेषगरी नाकाबन्दीका बेला देशको सार्वभौमसत्ता रक्षा गर्ने काम भएको थियो।

“देश रक्षादेखि विकाससम्म एमालेले महत्वपूर्ण भूमिका खेलेको छ,” उनले भने, “त्यसैले अब पनि अत्याधिक बहुमतले विजयी गराउनुपर्छ।”

लिम्बुले वर्तमान राजनीतिक व्यवस्थासमेत स्थापित दलहरूको योगदानबाट आएको उल्लेख गर्दै क्षणिक प्रभाव वा सामाजिक सञ्जालको भरमा गरेको राजनीति’ पछि नलाग्न मतदातालाई आग्रह गरे।

उनले छिमेकी देशहरूको राजनीतिक अवस्थालाई उदाहरण दिँदै स्थायित्व र अनुभवी नेतृत्वको आवश्यकता औंल्याएका छन्।

एमालेले क्षेत्रभर घरदैलो, सभा तथा अन्तरक्रियामार्फत चुनावी अभियानलाई अझ सशक्त बनाउँदै लगेको जनाएको छ।

सम्बन्धित खबर