
भद्रपुर । राज्यको बजेटमा सञ्चालित राष्ट्रिय समाचार समिति (रासस)को ६५औं स्थापना दिवसको सन्दर्भमा आज झापामा यसको ग्राहक विस्तारका सम्बन्धमा अन्तरक्रिया गरिएको छ । भद्रपुर प्रेस क्लबको सभाहलमा अग्रज सञ्चारकर्मी गोविन्द चन्द्र क्षेत्रीको प्रमुख आतिथ्यमा अन्तरक्रिया सम्पन्न भएको हो।
कार्यक्रममा रासस झापाका कार्यालय प्रमुख दीपक चन्दले झापाका सञ्चार माध्यमहरुले राससको ग्राहक नबनिदिएकोमा गुनासो गर्दै सयौं सञ्चार माध्यम सञ्चालनमा रहेको जिल्लामा तीनवटा मात्र ग्राहक हुनु आश्चार्यलाग्दो रहेको बताउनु भयो ।
अन्तरक्रियामा सहभागी सञ्चारकर्मीहरूले सञ्चार क्षेत्रमा राष्ट्रिय सञ्चार समितिले पारेको प्रभाव र भोलिका दिनमा गर्ने कामको बारेमा आफ्ना धारणा राख्नुभयो ।
राससको संस्थागत सुदृढीकरणका लागि झापाबाटै वार्षिक ग्राहक बन्ने अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिँदै अनलाइन सञ्चार माध्यमहरुका लागि मासिक शुल्क धेरै भएकोले आधा घटाएमा सहज हुने सुझाव दिनुभयो ।
राससको ग्राहक अब सञ्चार माध्यमहरुमात्र नभएर सबै मन्त्रालयहरु, विश्वविद्यालयहरु, प्रदेश सरकार, पालिकाहरु, अनुसन्धान केन्द्रहरु तर्फ सोच्ने हो भने व्यवसायिकरुपमा अझ सुदृढ हुने सुझाव दिइयो ।

रासस जिल्ला प्रतिनिधि एवम् पूर्व कार्यालय प्रमुख अम्बिका भण्डारीले राससको वर्तमान अवस्था र चुनौतीबारे जानकारी गराउँदै संस्थालाई दिगो र सक्षम बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।
त्यसैगरी झापा प्रमुख दीपकचन्द्रले राससले हालसम्म गरेका कार्यहरूको समीक्षा गर्दै समाचारलाई अझ प्रभावकारी र उत्कृष्ट बनाउन सञ्चारकर्मीहरूको सहकार्य अपरिहार्य रहेको बताउनु भयो ।
कार्यक्रममा सहभागीहरूले सत्य, तथ्य र निष्पक्ष पत्रकारितामार्फत समाजमा विश्वसनीय सूचना प्रवाह गर्ने राससको भूमिकालाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त भयो ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सह–इन्चार्ज गोपाल काफ्ले, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहनकाजी, महासंघ कोशीका सदस्य राजकुमार ओली, झापा शाखाका सचिव राजु पाठक, नेपाल प्रेस युनियन कोशी प्रदेशका उपााध्यक्ष ज्ञानेन्द्र निरौला लगायत दर्जन बढी पत्रकारहरुले सो अन्तरक्रियामा आफ्ना धारणा राख्नु भएको थियो ।
राससको स्थापना दिवस फागुन ७ गते पर्दछ ।


