२०८२ फागुन ६ बुधवार , ०४:५२:०२ बजे

Sajhamanch
'

बजेट अभावले रोकिएको गैँडा गणना अर्को महिना चैतमा हुने

बुधवार, फागुन ६, २०८२

काठमाडौं । बजेट अभावका कारण गएको वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडा गणना अर्को महिना चैतमा हुने भएको छ ।

प्रतिनिधिसभा सदस्य चुनाव सकिएलगत्तै चैत लागेपछि गणना गर्ने तयारी छ । यस वर्ष आनुवंशिक (जेनेटिक) विधि वा हरेकको पहिचान (आईडिबेस) को आधारमा कम खर्च र कम समयमा गणना गर्ने गरी तयारी भैरहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक चाररचार वर्षको अन्तरमा गर्दै आएको गैँडा गणना गएको वर्ष रोकिएको थियो ।

विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार यस अघिका वर्षमा ब्लक छुट्याएर एकै साथ ठूलो सङ्ख्यामा हात्ती र मानवीय जनशक्तिको प्रयोग गरेर गैँडा गणना गरिँदै आएको थियो । यसरी गैँडा गणना गर्दा लामो समय र खर्च लाग्ने भएकाले यसवर्ष फरक विधि अपनाउन लागिएको हो ।

आचार्यका अनुसार सन् २०२१ मा गैँडा गणना गर्दा तीन करोड हाराहारीमा खर्च भएको थियो । अघिल्लो आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि गैँडा गणना रोकिएको थियो ।

यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यक्रममा केही बजेट विनियोजन गरेर गणना गर्न लागेको हो । सन् २०२१ को गैँडा गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ गैँडा फेला परेका थिए ।

सम्बन्धित खबर