२०८२ फागुन ६ बुधवार , ०१:५८:३३ बजे

Sajhamanch
'

बङ्गलादेशका नवनियुक्त प्रधानमन्त्री रहमानद्वारा नेपालमा हुन लागेको चुनाव सफलताको कामना

बुधवार, फागुन ६, २०८२

काठमाडौं । बङ्गलादेशका नवनियुक्त प्रधानमन्त्री तारिक रहमानले नेपालमा यही फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य चुनावलाई सफलताको कामना गर्नुभएको छ ।

बङ्गलादेशका प्रधानमन्त्री र नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्माबीच हिजो बेलुका ढाकामा भएको भेटमा रहमानले चुनाव सफलताको शुभकामना व्यक्त गर्नुभएको ढाकामा रहेको नेपाली दूतावासले जनाएको छ ।

त्यस अवसरमा मन्त्री शर्माले बङ्गलादेशको प्रधानमन्त्रीमा नियुक्त हुनुभएका रहमानलाई बधाई ज्ञापनसहित प्रधानमन्त्री सुशीला कार्कीले पठाउनुभएको बधाई सन्देश हस्तान्तरण गर्नुभएको थियो ।

दूतावासका अनुसार परराष्ट्रमन्त्री शर्माले चुनाव सफलतापूर्वक गरी लोकतान्त्रिक प्रक्रियामा सहज सङ्क्रमण सुनिश्चित गरेकोमा बङ्गलादेश सरकारको सराहना गर्दै नेता रहमान नेतृत्वको बङ्गलादेश नेशनलिस्ट पार्टीले बहुमत हासिल प्राप्त गरेकामा बधाई ज्ञापन गर्नुभयो ।

नेपाल र बङ्गलादेशबीचको दिगो साझेदारी अझ सुदृढ बनाउने साझा प्रतिबद्धता दोहोर्याउँदै प्रधानमन्त्री रहमान र परराष्ट्रमन्त्री शर्माले व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार, शिक्षा, पर्यटनलगायत क्षेत्रमा सहकार्य बढाउनेबारेमा छलफल गर्नुभएको थियो ।

त्यसअघि, परराष्ट्रमन्त्री शर्मा बङ्गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूको शपथग्रहण समारोहमा पनि सहभागी हुनुभएको थियो । अस्ति सोमवार ढाका प्रस्थान गर्नुभएका परराष्ट्रमन्त्री शर्मा भोलि स्वदेश फर्कने कार्यक्रम छ ।

सम्बन्धित खबर