२०८२ फागुन ५ मङ्गलवार , १०:४४:५३ बजे

Sajhamanch
'

मतदाता शिक्षाका लागि झापाका सबै वडामा १३१ जना स्वयंसेवक परिचालन

मङ्गलवार, फागुन ५, २०८२

झापा । फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदाता शिक्षाका लागि झापाका सबै १३१ वडामा स्वयंसेविका तथा सहजकर्ता खटाइएको छ ।

जिल्ला निर्वाचन कार्यालयले स्थानीय स्वयंसेविका, बाल विकास सहजकर्ता र सामुदायिक अध्ययन केन्द्र परिचालक गरी १३१ जनालाई मतदाता शिक्षा दिलाउन खटाएको जनाएको हो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार जनशक्ति छनोट गर्दा विगतका निर्वाचनमा कार्य अनुभव हासिल गरेका व्यक्तिलाई विशेष प्राथमिकता दिइएको छ । यसरी खटाइएका कर्मचारीले प्रत्येक वडामा पुगेर तोकिएको जिम्मेवारी पूरा गर्न सुरु गरिसकेको उहाँको भनाई छ ।

प्रमुख नेपाका अनुसार फागुन ३ गतेदेखि स्वयंसेवक परिचालन भएको र फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम चल्ने छ ।

कार्यक्षेत्रमा खटाइएका स्वयंसेवकले मतदाताको घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने उहाँले बताउनु भयो ।

मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरण गर्ने अपेक्षा निर्वाचन कार्यालयको छ ।

झापामा पाँचवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । यस्तै मतदाताको संख्या सात लाख १३ हजार ५३७ रहेको छ । यसपटक ५० हजार नयाँ मतदाता थपिएका छन् ।

जिल्लाका कूल मतदातामध्ये तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ जना अन्य रहेका छन् ।

सम्बन्धित खबर