२०८२ फागुन ५ मङ्गलवार , ०९:३२:५० बजे

Sajhamanch
'

मकै पोलेर आम्दानी

मङ्गलवार, फागुन ५, २०८२

मोरङ । बेलबारी नगरपालिका–८ राधानगरकी प्रमिला राईले विगत सात वर्षदेखि पूर्वपश्चिम राजमार्गको बेलबारी–१० स्थित भाउन्ने चोक नजिकै मकै पोलेर बिक्री आउनु भएको छ ।

मकै पोलेरै जीविका चलाउँदै आउनुभएकी उहाँलाई सो काममा श्रीमान् र छोरीको साथ छ । उहाँका अनुसार रु. २५ प्रतिघोगा किनेको हरिया मकै पोलेपछि प्रतिघोगा रु. ५० मा बिक्री भइरहेको छ । उहाँसँगै मकै पोल्नुहुने कानेपोखरी–५ की दुर्गामाया तामाङ भन्नुहुन्छ, “व्यापारको टुङ्गो त हुँदैन, तर औसतमा दैनिक रु. एक हजारदेखि एक हजार ५०० सम्म आम्दानी हुन्छ । पछिल्ला केही वर्षयता भाउन्नेमा पोलेको मकैको व्यापार फस्टाउँदो छ ।”

बेलबारी–१० भाउन्नेका रमेश कुँवरले पनिं सोही स्थानमा मकै पोलेर बिक्री गर्दै आउनु भएको छ । घरमै होटल व्यवसाय सञ्चालन गर्नुभएका कुँवरले कोरोनाका कारण व्यवसाय ठप्प भएपछि मकै पोलेर बेच्न थालेको बताउनुभयो ।

कुँवरका अनुसार राजमार्गमा यात्रारत अधिकांश सार्वजनिक यातायातले यहाँ रोकेका बेला यात्रीले पोलेको मकै किनेर खाने र निजी सवारीमा यात्रा गर्नेले पनि पोलेको मकै खानकै लागि आउने गरेका छन् ।

सुनसरीको इटहरी घर भएका अनिल सुब्बा उर्लाबारी पुगेर फर्किएपछि परिवारसहित भाउन्नेमा गाडी रोकेर मकै पोल्न भन्नु भयो । मकै खाँदै उहाँले भन्नु भयो, “यहाँको मकैको स्वादै बेग्लै, पोलेको मकै रुचाउनेका लागि यहाँ उचित मूल्यमा ताजा मकै खान पाइन्छ”, मकै पोलुञ्जेल थकाइ पनि मर्ने उहाँ बताउनु हुन्छ। केही वर्षयता यस स्थानमा पोलेको मकै रुचाउनेको भीड नै लाग्ने गरेको छ । राजमार्गमा यात्रा गर्नेहरूका लागि खाजा खाने नयाँ गन्तव्यका रूपमा यो ठाउँ विकास भइरहेको छ ।

भाउन्ने चोक पूर्व चिसाङ खोला छेउसम्ममा २० भन्दा बढी स्थानीयले मकै पोल्ने पेसा गर्दै आउनु भएको छ । पछिल्लो समय बेलबारीमा व्यावसायिक मकैखेतीप्रति किसानको आकर्षण बढ्दो छ । मकैले उचित मूल्य पाएपछि बाह्रै महिना हरिया मकै उत्पादनमा किसानले जोड दिन थालेका छन् ।

मङ्गलवार, फागुन ५, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर