२०८२ फागुन ५ मङ्गलवार , ०६:२२:३९ बजे

Sajhamanch
'

धनकुटामा लागूऔषध ओसारपसारमा संलग्न १५ सवारीसाधन प्रहरी नियन्त्रणमा

मङ्गलवार, फागुन ५, २०८२

धनकुटा । धनकुटा प्रहरीले लागूऔषध ओसारपसार तथा बिक्रिमा प्रयोग भएका साना, ठूला गरी १५ भन्दा बढी सवारीसाधन नियन्त्रणमा लिएको छ ।

लागूऔषध ओसारपसारमा भारतीय नम्बर प्लेटका कारदेखि आकस्मिक सेवाका एम्बुलेन्स समेत प्रयोग भएको पाइएको छ ।

धनकुटा प्रहरीले लागूऔषध ब्राउनसुगर र गाँजा ओसारपसारमा संलग्न कारोबारीसँगै उनीहरुले प्रयोग गरेका सवारीसाधन नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका सवारीसाधनमा ४ वटा कार, ४ वटा पिकअप, २ वटा जीप, भन्सार छुटमा ल्याएइका आकस्मिक सेवाका २ वटा एम्बुलेन्स तथा २ वटा ट्रक र मिनिट्रक छन् ।

यी सवारीसाधन बिगत चार आर्थिक वर्षका विभिन्न समयमा पक्राउ परेका कारोबारीसँगै जफत गरिएको धनकुटाका एसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

कारोबारीहरुले गाँजा ओसारपसारका लागि भारतिय नम्बर प्लेटका गाडीका साथै आकस्मिक सेवाका एम्बुलेन्स समेत प्रयोग गर्दै आएको एसपी थापा क्षेत्रीको भनाई छ ।

नियन्त्रणमा लिइएका सवारीसाधन धनकुटा सदरमुकाममा प्रहरीले पहिले प्रयोग गरेको पुरानो कार्यालय रहेको गोकुण्डेश्वर माध्यमिक विद्यालयको उत्तरपट्टीको जमिनमा थन्क्याएको छ । केही सवारीसाधन भने मूलघाट चौकी परिसरमा रााखिएको छ ।

नियन्त्रणमा रहेका सवारीसाधन कसुरको प्रकृति, परिमाण, संलग्नता र प्रमाणका आधारमा अदालतले गर्ने निर्णय पर्खिएर प्रहरीको रेखदेखमा राखिएको एसपी थापा क्षेत्रीको भनाई छ । अदालतको अन्तिम फैसला आएपछि मात्रै नियन्त्रणमा रहेका सवारीसाधनका बारेमा प्रष्ट हुने उहाँले जनाउनु भयो ।

धनकुटामा पछिल्ला आर्थिक वर्षमा लागूऔषध दुर्व्यसनका मुद्दा पनि निरन्तर बढिरहेका छन् । आर्थिक वर्ष २०७७/०८७ यता लागूऔषध सम्बन्धि मुद्दाको संख्या बढ्दो छ ।

आर्थिक वर्ष २०७७/०७८ मा ४, ०७८/०७९ मा १०, ०७९/०८० मा २१, ०८०/०८१ मा २०, ०८१/०८२ मा ५७ र चालु आर्थिक वर्षको पुषसम्म १५ वटा लागूऔषध सम्बन्धि मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर