
काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावलाई निष्पक्ष, धाँधलीरहित र सुरक्षित रूपमा सम्पन्न गर्न देशभर निर्वाचन प्रहरी तथा सुरक्षा टोली परिचालन गरिएको छ । काठमाडौंका प्रमुख व्यापारिक केन्द्रदेखि गाउँ–गाउँमा निर्वाचन प्रहरी अर्थात् म्यादी प्रहरीसहित सुरक्षाकर्मी खटिएका छन् ।
निर्वाचन प्रहरी नीलो बर्दीमा देख्न सकिन्छ । नेपाल प्रहरीले उनीहरूलाई सुरक्षा घेरामा मात्र सिमित नराखी, नागरिकसँग गर्ने व्यवहार, भीड नियन्त्रण र चुनावी आचारसंहिता पालनाका विषयमा समेत प्रशिक्षण दिएको छ ।
चोक–चोकमा खटिएका म्यादी प्रहरीलाई सम्बन्धित क्षेत्रका प्रहरी निरीक्षक र हवल्दारले स्थलगत रूपमै कामको प्रकृति बुझाइरहेका छन् । यसअघि नेपाली सेनासहित सबै सुरक्षा निकाय चुनावी सुरक्षा प्रयोजनका लागि खटिसकेका छन् ।
यसैबीच निर्वाचन आयोगले दिएको समयसीमा अनुसार दलहरूले हिजोदेखि चुनावी प्रचारप्रसार थालेका छन् । आयोगले यही १८ गतेसम्म चुनाव प्रचारप्रसार गर्न समय तोकेको छ ।
प्रत्यक्षतर्फ कुल तीन हजार ४०६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । उनीहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो, कोणसभालगायतका चुनावी प्रचार–प्रसार तीव्र पारेका छन् ।
आयोगले आचारसंहिताको पालना गरी चुनाव प्रचार–प्रसार गर्न निर्देशन दिएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले उम्मेदवारलाई चुनाव प्रचारका लागि बिहान ७ देखि बेलुका ७ बजेसम्मको समयसीमा तोकेको बताउनुभयो ।
आयोगले हातहतियार वा विस्फोटक पदार्थको प्रदर्शन वा प्रयोग नगर्न, आर्थिक प्रलोभन नदेखाउन, सार्वजनिक भोज आयोजना नगर्न र त्यसमा सहभागी नहुन पनि आग्रह गरेको छ ।


