२०८२ फागुन ४ सोमवार , ११:२२:०७ बजे

Sajhamanch
'

कोरामा रहेका बुबाको राजनीतिक परीक्षामा छोरीहरू ‘सारथी’

सोमवार, फागुन ४, २०८२

बिराटनगर । देशभरमा जस्तै मोरङ क्षेत्र नं. ६ मा पनि चुनावी माहोल तातेको छ । तर यो चुनावी दौडबीच नेकपा (एमाले)का उम्मेदवार विनोद ढकालका लागि भने पीडाको क्षण बनेको छ । आफ्ना १०१ वर्षका बुवा दिवंगत हुनुको वियोग सहँदै दशगात्र कर्म गरिरहनु भएको उहाँलाई फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको जिम्मेवारीले सताएको छ ।

एमालेका उम्मेदवार ढकाल सनातनी हिन्दू संस्कारअनुसार १३ दिने काजकिरियामा सेतो वस्त्र धारण गरेर कोरामा बस्नु भएको छ । घरभित्र धार्मिक विधि चलिरहँदा उहाँको मन भने मतदातामाझ पुग्न नसकेको पीडाले झन भारी बनेको छ ।

केही दिनअघिमात्र कोराभित्रबाटै एक भिडियो सन्देशमार्फत उहाँले मतदातालाई सम्बोधन गर्नुभएको थियो । “म शारीरिक रूपमा तपाईहरूको माझमा आउन नसके पनि मेरो मन तपाईहरूसँगै छ । बुबाको शोक र तपाईहरूको माया दुवै मेरा लागि उत्तिकै महत्वपूर्ण छन्” उहाँको सन्देश थियो ।

उम्मेदवार कोरामा बसेपछि चुनावी अभियान सुस्त हुन्छ कि भन्ने धेरैको अनुमान थियो । तर ढकाल परिवारमा त्यो अनुमान गलत सावित भयो । ढकालको अनुपस्थितिमा उहाँका दुई छोरीहरू घरदैलो अभियानमा निस्किनु भएको छ । ‘जेन्–जी’ पुस्ताका ती दुई छोरीहरूले भावनात्मक संवेदनशीलता र आधुनिक सोचलाई एकसाथ जोडेर अभियान अघि बढाइरहेको बताइन्छ ।

इटालीबाट सस्टेनेवल नेचुरल रिसोर्स मेनेन्जमेन्ट विषयमा मास्टर गर्दै गरेकी जेठी छोरी सुरभी र भर्खरै बिए एलएलबी सकेर बसेकी कान्छी छोरी सौरभीमा राम्रै राजनीति चेत देखिन्छ । दुवै छोरीहरु बिहानै उठेर बुबाको आशीर्वाद लिएर बुवाको प्रतिबद्धता पत्र बोकेर मतदाताको घर–घर पुगिरहनु भएको छ।

उहाँहरूको हातमा केवल प्रतिवद्धता पत्रमात्र छैन, बुबाको संघर्ष र इमान्दारिताको कथा पनि छ । घरदैलोमा पुगेर उहाँहरूले “हाम्रो बुबा अहिले तपाईहरूको अँगनमा आउन सक्नुभएन, उहाँको तर्फबाट हामी आएका छौ । उहँको सपना पूरा गर्न साथ दिनुहोला” भनेर मत मागिरहनु भएको छ ।

जब दुई छोरीहरु मतदाताको आँगनमा पुग्छन्, धेरैजसो मतदाताहरू सुरुमा आश्चर्य मान्छन । “विनोद दाइ खोइ ?’’ भन्ने प्रश्नको उत्तरमा जब छोरीहरूले “हजुरबुबा बित्नुभयो, बुबा किरियामा हुनुहुन्छ, त्यसैले हामी आएका भनेर विनम्रतापूर्वक हात जोड्दा, माहोल एकाएक भावुक बन्छ ।

राजनीतिक आलोचना गर्न तयार भएर बसेका विपक्षी मतदाताको मन पनि यो दृश्यले पग्लिने गरेको छ । एक स्थानीय वृद्धा आमाले आँशु पुछ्दै भनेको मार्मिक शब्दहरु यस्ता थिए, “विचरा बावुको किरिया बारिरहेको घर, छोरीहरू यसरी भोट माग्न हिडेका छन्, धर्म पनि नछोड्नु, कर्म पनि नछोड्नु भनेको यही हो ।’’

पितृशोकको यो घडीमा छोरीहरूले देखाएको यो परिपक्वताले राजनीति केवल भाषण र घोषणापत्र मात्र होइन, यो संवेदना, सम्बन्ध र संस्कारको शिक्षा पनि भएको मतदाताको प्रतिकृया छ । बुबाको राजनीतिक परीक्षामा छोरीहरू ‘सारथी’ बनेको यो दृश्यले मोरङका मतदाताको मन छोएको छ ।

मतदाताहरूका लागि यो दृश्य भावुक बनिरहेको छ । एक स्थानीय मतदाता भन्छन्, “हिजोसम्म विनोद दाइ आफैं आउनुहुन्थ्यो, अहिले उहा शोकमा हुनुुहुँदोरहेछ, आज उहाँका छोरीहरू बुबाको लागि भोट माग्दै हिड्दा मन छोएको छ । यो केवल राजनीति होइन, परिवारको संस्कार र जिम्मेवारी पनि हो ।”