
बिर्तामोड । नेपाली कांग्रेसका नेताहरुले वीपी कोइरालाले युवालाई राजनीतिमा अत्यन्तै महत्व दिएको दावी गर्दै अबको राजनीतिमा शिक्षित एवं प्रविधिमा दक्ष युवाहरुको आवश्यकता औंल्याएका छन् ।
झापा क्षेत्र नं. २ निर्वाचन परिचालन समितिको आयोजनामा बिर्तामोडमा आयोजित नेवि संघ, तरुण दल लगायतमा आवद्ध युवाको भेलालाई सम्बोधन गर्दै पार्टी नेताहरुले यस्तो आवश्यकता औंल्याएका हुन् ।
पार्टीका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले पार्टीमा नेतृत्व परिवर्तन गर्नुपर्ने युवाको मागलाई नेपाली कांग्रेसले सम्बोधन गरेको बताउँदै अब युवालाई देशको नेतृत्वमा पुर्याउने काममा प्रभावकारी भूमिका खेल्न आग्रह गर्नुभयो ।
‘अब शिक्षित, पढे लेखेका र आइटीमा दक्ष युवा जनशक्ति राजनीतिमा आउनुपर्छ’ केन्द्रीय सदस्य शिवाकोटीले भन्नुभयो– ‘हिजो हामीले जानी नजानी राजनीति गर्यौं, आन्दोलनको जगमा टेकेर नेतृत्व गर्यौं । अब हाम्रो पालो सकियो । जे जति दियौं, अब तपाईहरुको पालो हो । राम्रो शिक्षा ग्रहण गर्नुस्, दक्ष भएर आउनुस् । भोलि देश तपाईहरुले चलाउनु पर्छ ।’
कार्यक्रममा अर्का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभामा समानुपातिक उम्मेदवार उमा शिवाकोटीले अहिले फिजिकलभन्दा डिजिटल प्रचार प्रसार बढी प्रभावकारी देखिन थालेको बताउँदै रुख चिन्हबाहक उम्मेद्वारले चुनाव जित्ने गरी डिजिटल प्रचार प्रसार गर्न युवालाई आग्रह गर्नुभयो ।

यस्तै, नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेद्वार सरिता प्रसाईले नेवि संघ, तरुण दल लगायतमा आवद्ध युवा पार्टीको मेरुदण्ड भएकोले आफू पनि नेवि संघ, तरुण दलमा संगठित हुँदै पार्टी राजनीतिमा पुगेको स्मरण गर्नुभयो । जेन–जी पुस्ता सबै राजनीतिक दलभित्र रहेको चर्चा गर्दै उहाँले नेपाली कांग्रेसको पक्षमा डिजिटल प्रचार प्रसार तीव्र पार्न युवालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टीका कोशी प्रदेश सभापति उद्वव थापाले ब्यक्ति होइन विचार बलवान हुन्छ भन्ने सीके प्रसाईको मान्यता र वीपीको विचार कांग्रेसको राजनीतिक आधार भएको बताउँदै बद्लिएको कांग्रेसलाई देशको नेतृत्वमा पुर्याउने कार्यमा भूमिका खेल्न युवा पंङ्तिलाई आग्रह गर्नुभयो । स्वतन्त्र तरिकाले आफ्नो मत प्रयोग गर्न पाउने अधिकारको रक्षा गर्न पनि उहाँको आग्रह थियो ।
नेपाली कांग्रेस झापा क्षेत्र नं. २ का सभापति एवं निर्वाचन परिचालन समितिका संयोजक खगेन्द्र मैनालीले भेलाको औचित्य माथि प्रकाश पार्दै संयमित र अनुशासित बन्दै शान्तिपूर्ण रुपमा पार्टीका उम्मेद्वार र पार्टीको पक्षमा प्रचार प्रसार तीब्र पार्न युवालाई आग्रह गर्नुभयो । कार्यक्रमको सहजीकरण २ नम्बर क्षेत्रीय सचिव चन्द्र चुडालले गर्नुभएको थियो ।


