
विराटनगर । बुढीगंगा गाउँपालिका ६ बौराहामा सडक, खानेपानी, स्वास्थ्य, रोजगारी र कृषिजस्ता आधारभूत समस्या अझै समाधान हुन नसकेको भन्दै स्थानीयवासीले गुनासो गर्दै आएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नं. ६ बाट नेकपा (एमाले)का उम्मेदवार विनोद ढकालले ती समस्या समाधानलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनु भएको छ ।
बुढीगंगा गाउँपालिका–६ बौराहामा ढकालसँग स्थानीय नेता कार्यकर्ता तथा सर्वसाधारणबिच भएको अन्तरक्रिया कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, रोजगारी र युवाको भविष्यसँग सम्बन्धित सवाल उठाइएका थिए । सहभागीहरूले स्थानीय आवश्यकता र समस्यालाई नीति तथा योजनामार्फत समाधान खोजिनुपर्नेमा जोड दिएका थिए ।
अन्तरक्रियामा उम्मेदवार ढकालले जनताको आवाज नै आफ्नो प्राथमिकता भएको उल्लेख गर्दै विकासको केन्द्र जनता नै भएकाले यहाँ उठेका सुझाव र प्रश्नलाई आगामी योजनामा समेटिने बताउनु भयो । उहाँले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र युवाको सशक्तीकरणमा विशेष ध्यान दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ढकालले बुढीगंगा क्षेत्रको समग्र विकासका लागि स्थानीय आवश्यकता अनुसार कार्यक्रम अघि बढाइने स्पष्ट पार्नुभयो । करिब ४० वर्षदेखि मोरङका विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएको उल्लेख गर्दै उनले जनतासँग सजिलै भेटघाट गर्न सकिने र जनजीवनसँग जोडिएको जनप्रतिनिधिको रूपमा आफू स्थापित भएको बताउनु भयो । आगामी दिनमा पनि मोरङ क्षेत्र नं. ६ का विकासका मुद्दा सशक्त रूपमा उठाइने उनले प्रतिबद्धता जनाउनु भयो ।
स्थानीयवासीका अनुसार बौराहाका अधिकांश भित्री सडक कच्ची रहेकाले वर्षा याममा हिलो र हिउँदमा धुलोका कारण आवतजावत कठिन हुँदै आएको छ । नाली, सडक बत्ती र पुल–पुलेसाको अभावले दैनिक जीवन प्रभावित भएको उनीहरूको भनाइ छ । सुरक्षित खानेपानी सबै घरधुरीमा सहज रूपमा नपुग्दा स्वास्थ्य जोखिमसमेत बढ्दै गएको छ ।
स्वास्थ्य सेवामा पहुँचको अभाव यहाँको अर्को प्रमुख समस्या हो । नजिकैको स्वास्थ्य संस्थामा आवश्यक औषधि, उपकरण र जनशक्ति नहुँदा सामान्य उपचारका लागि पनि विराटनगर जानुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् । स्थानीय स्तरमा रोजगारीका अवसर सीमित हुँदा अधिकांश युवा वैदेशिक रोजगारीमा जान बाध्य छन् ।
कृषि बौराहाको मुख्य पेसा भए पनि सिँचाइ सुविधा, आधुनिक प्रविधि र बजार व्यवस्थापन कमजोर रहेको किसानको गुनासो छ । उत्पादनको उचित मूल्य नपाउँदा किसान निरुत्साहित हुँदै गएका छन् । शिक्षा क्षेत्रमा पनि विद्यालयको भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षण सामग्री र दक्ष शिक्षकको अभाव देखिन्छ ।
यी सबै समस्यालाई सम्बोधन गर्दै उम्मेदवार विनोद ढकालले बौराहाको समग्र विकासका लागि स्पष्ट योजना अघि सारेका छन् । ‘बौराहाको विकास मेरो प्राथमिकता हो । सडक, खानेपानी, स्वास्थ्य, शिक्षा र रोजगारीलाई पहिलो स्थानमा राखेर योजनाबद्ध रूपमा काम गर्नेछु,’ ढकालले भन्नुभयो ।
स्थानीयवासीहरूले ढकालको पहुँच, संवादमुखी स्वभाव र विकासप्रतिको प्रतिविद्धताप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् । बौराहामा दिगो विकास र जनमुखी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा ढकाललाई समर्थन गर्ने विश्वास स्थानीयले व्यक्त गरेका छन् ।


