
झापा । नेकपा (एमाले) बाट झापा क्षेत्र नम्बर २ का उम्मेदवार देवराज घिमिरेले आगामी निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको बताउनु भयो ।
प्रेस चौतारी नेपालको २८ औँ स्थापना दिवस तथा वार्षिक साधारण सभालाई बिर्तामोडमा सम्बोधन गर्दै उहाँले देश अहिले असामान्य राजनीतिक परिस्थितिबाट गुज्रिरहेको टिप्पणी गर्नु भयो ।
घिमिरेले गत भदौ २३ र २४ गते भएको राजनीतिक विध्वंशपछि यो निर्वाचन घोषणा गरिएको स्मरण गराउँदै वर्तमान सरकारलाई ‘असंवैधानिक’ को संज्ञा दिनुभयो ।

संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि सञ्चारकर्मीहरूको भूमिका अहम् हुने चर्चा गर्दै पूर्वसभामुखसमेत रहनुभएका घिमिरेले पत्रकारहरूलाई जिम्मेवार भएर कलम चलाउन आग्रहसमेत गर्नुभयो ।
संविधान र व्यवस्थामाथि नै प्रहार भइरहेको अवस्थामा सत्य र तथ्यका आधारमा कलम चलाएर मुलुकलाई सही दिशा दिनु पत्रकारहरूको दायित्व भएको उहाँको तर्क थियो।



