
काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावमा समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ ।
आयोगले हिजो प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीमा ६३ राजनीतिक दलबाट ५७ चुनाव चिह्न कायम भएका कूल ३ हजार १३५ उम्मेदवार रहेका छन् ।
प्रकाशित बन्द सूचीमा १ हजार ७७२ महिला र एक हजार ३६३ पुरुष उम्मेदवार रहेका छन् । समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या धेरै छ ।
आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ र प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम २ बमोजिम अन्तिम नामावली प्रकाशन गरेको हो । आयोगले यसअघि ७६ जना उम्मेदवारको नामावली भने बन्दसूचीबाट हटाएको थियो ।


