२०८२ माघ २० मङ्गलवार , ०८:१३:१७ बजे

Sajhamanch
'

ग्लोरीको ३१औं वार्षिकोत्सवमा पूर्व विद्यार्थी डा. लिङ्देनसहित उत्कृष्ट विद्यार्थी र दीर्घसेवी शिक्षक-कर्मचारी सम्मानित

मङ्गलवार, माघ २०, २०८२

बिर्तामोड । बिर्तामोड वडा नं. ४ स्थित ग्लोरी अंग्रेजी माध्यमिक विद्यालयले आज आफ्नो ३१औं वार्षिकोत्सव मनाएको छ ।

विद्यालय परिसरमा आयोजित वार्षिकोत्सव समारोहमा ग्लोरीले आफ्ना पूर्व विद्यार्थी अभिलाशा लिङ्देन एमबिबिएस उत्तीर्ण गरी डाक्टर बनेकोमा नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरेको छ । डा. लिङ्देन हाल बिर्तामोडकै बिर्तासिटी हस्पिटलमा कार्यरत छिन् ।

यस्तै विद्यालयबाट २०८० सालको एसईई परीक्षामा ए प्लस प्राप्त गर्ने विद्यार्थीहरु साइमन बस्नेत र दिपिका अधिकारी तथा २०८१ सालको एसईई परीक्षामा ए प्लस प्राप्त गर्ने विद्यार्थीहरु नविन गौतम, सरु मगर र मोहम्मद अब्बासलाई जनही ५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको छ ।

विद्यालयमा १० वर्षभन्दा धेरै अवधिदेखि कार्यरत दीर्घसेवी शिक्षकहरु सपना गुरुङ र दुर्गा अधिकारी तथा कर्मचारी प्रेम न्यौपानेलाई नगद पुरस्कारसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

विद्यालयका संस्थापक प्रिन्सिपल इन्द्रदेव केरूङको अध्यक्षतामा आयोजित वार्षिकोत्सव समारोहमा प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीको प्रमुख आतिथ्य थियो ।

कार्यक्रममा प्रमुख अतिथि कार्की, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपाल काफ्ले र प्याब्सन बिर्तामोड नगर अध्यक्ष सुरेन्द्र खरेलले वार्षिकोत्सव समारोह सफलताको शुभकामना ब्यक्त गर्दै विद्यालयको चौतर्फी प्रगतिको कामना गरेका थिए ।

विद्यालयका इन्चार्ज शशिलकुमार राईले शाब्दिक स्वागतसहित विद्यालयको गतिविधिका विषयमा प्रकाश पारेको वार्षिकोत्सव समारोहको सञ्चालन शिक्षक पुण्यप्रसाद सुवेदीले गरेका थिए ।

वार्षिकोत्सव समारोहमा सञ्चालित विविध मनोरञ्जनात्मक गीत, नृत्य आदि सांस्कृतिकतर्फको कार्यक्रम सञ्चालन विद्यार्थीका विभिन्न समूहले गरेका थिए ।

कार्यक्रममा विद्यार्थीले स्वागत गीत, नृत्य, गायन, समूह नृत्य, रेम्प वाक, नाटक, फेसन सो, एकल गायन लगायतका प्रतिभाहरू प्रस्तुत गरेका थिए ।

उक्त विद्यालयमा चालू शैक्षिक सत्रमा ५०० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

सम्बन्धित खबर