
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर जुध्दा २१ जना विद्यार्थी घाइते भएका छन् ।
धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर भएको दुर्घटनामा मणिग्रामको शान्ति नमूना माविमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थी घाइते भएका हुन् ।
आज मंगलबार बिहान भएको दुर्घटनामा घाइतेमध्ये १३ जना युनिभर्सल मेडिकल कलेज भैरहवामा, ४ जना भीम अस्पताल भैरहवामा उपचार गराइरहेका छन् भने ४ जना डिस्चार्ज भएर घर फर्केका छन् ।
नवलपरासीबाट भैरहवातर्फ आउँदै गरेको लु १ ख ८६७५ नम्बरको बस र लु ३ त ३५३० नम्बरको ट्याक्टर रुपन्देहीको ओमसतिया गाउँपालिका(४ बसन्तपुरमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले बताउनु भयो ।
बिहानपख बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको डिएसपी सापकोटाले बताउनु भयो ।
बस र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उहाँले बताउनु भयो ।


