
दमक । झापाका विभिन्न ठाउँमा गएर नक्कली सुन देखाएर आफूलाई अप्ठ्यारो परेको र उपचारका लागि रकम अभाव भएको भन्दै ठगी गर्दै हिड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
उदयपुर चौदण्डीगढी नगरपालिका वडा ३ बस्ने ४३ वर्षीय जितबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर बजारमा रहेको भोजपुर ज्वेलर्समा विकले सुन जस्तो देखिने पहेलो धातु (नक्कली सुन) धरौटी राख्न खोजेपछि यो रहस्य खुलेको हो ।
यसभन्दा अघि बिर्तामोडमा पनि विक यस्तो कार्यमा संलग्न रहेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ज्वेलर्सका सञ्चालकले शङ्का लागेर प्रहरीलाई खबर गरेपछि प्रहरीले विकको साथबाट नक्कली सूनको गहना सहित नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाएको खड्काले जानकारी दिनुभयो ।
लोभलालच देखाएर यस प्रकारका ठगीका घटनाहरू हुनसक्ने भएकाले सचेत हुन प्रहरीले सबैलाई आग्रह गरेको छ ।


