२०८२ माघ १९ सोमवार , ०२:०१:५५ बजे

Sajhamanch
'

निर्वाचन आयोगले सञ्चालन गरेको कल सेन्टरमा १ हजार भन्दा धेरै जिज्ञासा

सोमवार, माघ १९, २०८२

काठमाडौं । चुनावमा धेरै नागरिकले आफ्नो मतदाता नामावलीबारे जिज्ञासा राखेका छन् । निर्वाचन आयोगले यही माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको ‘कल सेन्टर’ मा माघ १७ गतेसम्म जम्मा १ हजार ६७७ वटा जिज्ञासा प्राप्त भएका छन् ।

यसमध्ये मतदाता नामावलीसम्बन्धी ९०६, निर्वाचन आचारसंहितासम्बन्धी १३५, मतदाता शिक्षासम्बन्धी ६१ र अन्य ५७५ रहेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

प्रवक्ता भट्टराईका अनुसार, निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या वा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिहरूको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउने योजना आयोगले अघि बढाइरहेको छ ।

हानिकारक सूचना उत्पादन वा सम्प्रेषण गर्ने १२० विषयवस्तु उत्पादक÷सम्प्रेषकलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाइएको छ । ६ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अनुसार कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ ।

त्यस्तै, १५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ अनुसार कारबाहीका लागि प्रेस काउन्सिल, नेपालमा र ३४ वटालाई निर्वाचन आचारसंहिता, २०८२ अनुसार कारबाहीका लागि केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको आयोगले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

यस्तै चुनावमा निजी क्षेत्रसँग पनि छलफल भएको छ । निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको मतदाता शिक्षा एकाइले अहिलेसम्म १५८ सामग्री स्वीकृत गराएर आयोगको आधिकारिक फेसबुक, एक्स, टिकटक र युट्युबमा राखेको छ ।

सम्बन्धित खबर